यस अवसरमा चिनियाँ सेनाले विशाल सैन्य परेड निकाल्दै शक्ति प्रदर्शन गरेका छन्। वार्षिकोत्सवलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वका कुनै पनि शक्तिले चीनलाई हल्लाउन नसक्ने दाबी गरे।
उनले भने,‘विश्वका कुनै शक्तिले चीनको स्थान हल्लाउन सक्दैन, चीन र चिनियाँ मानिसलाई अगाडि बढ्न कसैले रोक्न सक्दैन।’
बेइजिङमा आयोजित कार्यक्रममा १५ हजार सेनाले सैन्य परेडमा भाग लिएका थिए। जहाँ १ सय ६० युद्धक विमानको प्रदर्शन गरिएको थियो।

मंगलबार युद्धक विमानसँगै अत्याधुनिक हतियारहरु प्रदर्शन गरिएको थियो। सैन्य शक्ति प्रदर्शन गर्ने क्रममा मंगलबार चीनले नयाँ प्रविधिको डोङफेङ ४१ अन्तर–महादेशीय व्यालेस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो।
अधिकारीका अनुसार यस क्षेप्यास्त्रले ९ हजार ५ सय माइलको दुरी तय गर्नसक्छ। यस क्षेप्यास्त्रले चीनबाट अमेरिका ३० मिनेटमा पुगेर मार हान्नसक्ने जनाइएको छ। नयाँ प्रविधि जडान गरिएको यस क्षेप्यास्त्रमा अन्य १० वटा क्षेप्यास्त्र बोक्ने र त्यसलाई संचालन गर्नसक्ने सामथ्र्य छ।

यसैगरी चीनले हाइपरसोनिक क्षेप्यास्त्र डोङफेङ १७ पनि सार्वजनिक गरेको छ। यो क्षेप्यास्त्रले कम उचाइमा तिव्र गतिमा उडेर धेरै क्षेप्यास्त्र बोक्नसक्छ र मार हान्नसक्छ।
विज्ञहरुका अनुसार यस हाइपरसोनिक क्षेप्यास्त्रले अमेरिकी रक्षा प्रणालीलाई चुनौती दिनसक्छ।
चीनले सुपरसोनिक ड्रोन पनि सार्वजनिक गरेको छ। यसलाई डब्लुजेड–८ भनिएको छ। यस ड्रोनले खतरनाक क्षेप्यास्त्र बोक्ने क्षमता राख्दछ।

चीन सैन्य शक्तिमा धेरै बजेट छुट्याउने अमेरिकापछि दोस्रो मूलुक हो। चीनले प्रत्येक वर्ष १० प्रतिशतका दरले सैन्य शक्तिमा बजेट बढाउँदै आएको छ।
वितेको ७० वर्षमा चीन एक गरिब मूलुकबाट विश्वको दोस्रो ठूलो अर्थव्यवस्था बनेको छ। उसले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव बढाएर विश्वलाई आश्चर्यमा पारेको छ। डेलीमेल




प्रतिक्रिया