पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सो कोषको घोषणा गरेका हुन्।
काठमाडौं उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा संचालनमा रहेका जात्रा पर्वमध्ये इन्द्रजात्रा लगायत उक्त अवसरमा सञ्चालन हुने जात्रापर्वको संचालन तथा व्यबस्थापन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ साल भदौ २० को बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने गरेको निर्णयअनुसार उनले आज सो घोषणा गरेका हुन्।
सो अक्षय कोष सञ्चालन समितिको अध्यक्ष काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रहेका छन्। अध्यक्ष कोषको घोषणा गर्दै मन्त्री भट्टराईले कोषमा नेपाल सरकारबाट एक करोड ५० लाख, प्रदेश सरकार (३ नं.) बाट रु. १ करोड, काठमाडौं महागरपालिकाबाट रु. २ करोड र गुठी संस्थानबाट रु. ५० लाख रकम जम्मा जानकारी समेत दिए। ‘काठमाडौ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा संचालनमा रहेका जात्रा पर्वहरुको विशिष्टखाले महत्व रहँदै आएको छ’, कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले भने, ‘यहाँका जात्रा–पर्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि विशेष महत्वका साथ हेर्नुभएको छ। काठमाडौँ महानगरपालिकाका मेयरज्युको पहल, हाम्रो प्रयास र प्रधानमन्त्रीज्युले विषेश चासो लिएकाले नै यो सम्भव भएको हो ।’
मन्त्री भट्टराईले वर्तमान सरकार उपत्यकाको संस्कृति, संम्पदा र परम्पराप्रति सचेत छ भन्ने प्रमाण पनि यो भएको बताए। ‘वर्तमान सरकार उपत्यकाको संस्कृति, संम्पदा र परम्पराप्रति सचेत छ,’ उहाँले भन्नुभयो, ‘यो प्रारम्भीक प्रयास हो, आवश्यक पर्यो भने हामी रकम थप गर्न तयार छौँ’, उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि राष्ट्रपति विद्या भण्डारीको पनि विशेष चासो रहेको बताए। कोष सञ्चालक समितिको अध्यक्षमा मेयर शाक्यसँगै सदस्यहरुमो पर्यटन मन्त्रालयको प्रतिनिधि एक जना, प्रदेश तीन सरकारको प्रतिनिधि एक जना, गुठी संस्थानको प्रतिनिधि एक जना, दरबार हेरचाह अड्डाको प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष र महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने छन् ।
इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि काठमाडौं महानगरपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ ।

प्रतिक्रिया