समाज


जब झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसे....

जब झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसे....

नेपालखबर
भदौ २५, २०७६ बुधबार १४:३८,

कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ।

जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उपचार गर्ने भन्दै बिरामीको पेट चिर्ने गरेको तथ्य खुलेको छ। नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगतसमेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीले बताए।

कमलपित्तको बिरामी परेर उपचार गराइरहेका मगर झाँक्रीकामा उपचार गराउन गएका थिए। उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए।

सोही बेला उपचारका लागि भनेर कमलपित्त तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग रु आठ हजार ३८० रकम लिएर पत्तीले देब्रेपट्टी पेटमा चिरेको बिरामीको श्रीमती विमलाले जानकारी दिइन्। पेट चिर्ने बेलामा झाँक्रीले बिरामीको श्रीमती र सँगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए। पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूले चुसेको बिरामी मगरले बताए।

करीब दुई महीनादेखि कमलपित्तले थलिएका मगर कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको छ। कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि यसरी पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ।

मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए। ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन्। उनको यसअघि पनि केही घटना विवादमा आएका थिए। तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएका थिए। ती महिलालाई प्रहरीकामा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी नगरेको अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिइन्।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारवाही गरिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad