ad ad

समाज


विद्यालयमा जङ्कफुड प्रतिबन्ध, बालबालिकालाई बारअनुसार अर्गानिक खाजा

विद्यालयमा जङ्कफुड प्रतिबन्ध, बालबालिकालाई बारअनुसार अर्गानिक खाजा

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ३:३०,

बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन्।

गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै स्थानीयवासीले समेत अनुशरण गरेका हुन्।

महाकुलुङ ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिए। शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन्।

“विद्यालय क्षेत्रभित्र तयारी खानेकुरा (जङ्कफुड) मा प्रतिबन्ध लगाइने भएको छ”, कुकलुङले भने, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अग्र्यानिक खानेकुरालाई प्रवद्र्धन गर्न हामीले यस्तो निर्णय गरेका हौँ।”

वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ। बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिने निर्णयमा स्थानीय पुगेका हुन्।

विभिन्न परियोजनाले अग्र्यानिक खानेकुरासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङ्कफुड प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका रमिता कुलुङले बताइन्।

बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङको भनाइ छ। यो अभियानलाई सबैतिर लागू गरिने उनले बताए।

जङ्कफुडको विकल्पसहित बारअनुसार विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ। निर्णयानुसार विद्यार्थीका लागि आइतबार भुटेको भात, सोमबार आलु, मङ्गलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु–पिँडालुलगायत कन्दमुल खाजाका रुपमा प्रयोग गर्नुपर्नेछ।

गाउँपालिका क्षेत्र कृषिमा आत्मनिर्भर बन्नका लागि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए। किरातीले भने, “कुन क्षेत्रमा कुन समयमा आत्मनिर्भर बन्न सक्छौँ, सोहीअनुसार बाह्य आयतलाई हामी रोक्दै जान्छौँ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .