समाज


देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा, बाढीपहिरोको खतरा

देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा, बाढीपहिरोको खतरा

नेपालखबर
भदौ १४, २०७६ शनिबार १:५,

काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका धेरैजसाे स्थानमा शुक्रबार रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

अझै यो एक/डेढ घण्टा नरोकिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए।

‘एक/डेढ घण्टापछि भने मौसम केही सुध्रिने सम्भावना छ,’ शनिबार बिहान पौने ७ बजे उनले भने,‘तर दिउँसो फेरि बदली भई वर्षा हुने मौसम पूर्वानुमान छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्व र मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। साथै पश्चिमका पनि एक/दुई ठाउँमा पानी परिरहेको छ।

आज पूर्वका धेरै तथा मध्यका केही स्थानमा मेगगर्जन/चट्याङसहित पानी पर्ने तथा पूर्वका एक/दुई ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् अर्यालले बताए।

काठमाडौंमा अहिलेसम्म २३.४ मिलिमिटर पानी परेको छ। वर्षा जारी रहेकाले ३० मिलिमिटरसम्म पुग्ने अनुमान रहेकाे उनले जानकारी दिए।

पहाडी क्षेत्रमा पहिरो जानसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन उनको सुझाव छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको बाह्रबिसे र अधिकांश स्थानमा, चितवनको कालीखोला र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको जनाएकाे छ।

बाढी महाशाखाले भनेको छ-‘बाह्रविसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ-मुङलिङ सडकखण्डको कालीखोला र आसपास पहिरो जान सक्छ,यात्रामा सतर्कता अपनाऔँ।’

बाढी महाशाखाका अनुसार पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, लमजुङ,चितवनमा रातिदेखि नै वर्षा भइरहेकाले केही साना नदीमा आकस्मिक बहावको सम्भावना छ।

साथै प्रदेश १,२,३ र ४ का साना नदी तथा झापाको विरिङ नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

न्यून चापीय रेखा औसत स्थानबाट दक्षिण नै रहे पनि पश्चिम बंगालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा वर्षा भएको मौसमविद् अर्यालले बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad