रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले गएराति १ बजेतिर शरीरमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
‘आगोले पोल्दा गम्भीर घाइते भएका उनलाई आज बिहान बर्न अस्पताल काठमाडौँ लगिएको छ,’ जिप्रका रौतहटका डीएसपी वसन्त गौतमले नेपालखबरसँग भने, ‘स्थानीय स्तरमा उपचारमा संलघ्न चिकित्सकले उहाँको शरीरको ३१ प्रतिशतभन्दा धेरै भाग जलेको भनेका छन। अवस्था गम्भीर देखिन्छ।’
आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।
सहनीलाई तत्काल गरुडाकै बेटर नेपाल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बुधबार बिहान काठमाडौँको कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
विवाहितसमेत रहेका उनले के कारणले आत्मदाहको प्रयास गरे खुलेको छैन। तर परिवारका सदस्यले भने उनी मानसिक रुपमा कमजोर अवस्थामा रहेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए।
गएको एक सातामा चार जनाले आत्मदाह गरेका छन्। जसमध्ये तीनजनाको ज्यान गइसकेको छ।
Shares

प्रतिक्रिया