छापा खबर


गुन्डा नाइके समीरले जेलबाटै यसरी चलाउँदारहेछन् धम्की र असुली धन्दा

गुन्डा नाइके समीरले जेलबाटै यसरी चलाउँदारहेछन् धम्की र असुली धन्दा

नेपालखबर
भदौ १४, २०७६ शनिबार ०:४०,

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन्।

सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ। फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्वीकारेका छन्। दुवैविरुद्ध ठगी, मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा मुद्दा दायर गर्न लागिएको छ । बस्नेतविरुद्ध समेत सो मुद्दा चल्ने ब्युरोका एक अधिकारीले बताए। 

स्रोतका अनुसार सीआईबीले बस्नेतसँगसमेत बयान लिइसकेको छ। जेलबाट झिकाएरै बयान लिएको हो।

हालसम्मको अनुसन्धानमा बस्नेतले नै निर्माण व्यवसायीको सूची दिएर धम्क्याउन निर्देशन दिएको खुलेको छ । खड्का र नगरकोटीले इन्टरनेट कलमार्फत फोन गरी पैसा माग्ने र नदिए शरद गौचनकै हालत हुने भन्दै तर्साउने गरेका थिए । धम्क्याउन प्रयोग गरिएको सिमकार्डसमेत खड्काको साथबाट ब्युरोले बरामद गरेको छ । 

बस्नेत हाल सुन्धारास्थित भद्र जेलमा छन्। जेलकै फोन प्रयोग गरी उनले धम्की र असुलीको निर्देशन दिएको प्रहरी स्रोत बताउँछ।

कतिपय निर्माण व्यवसायीसँग उनीहरूले पैसासमेत लिएका थिए । सो समूहको धम्कीबाट आजित भएपछि केही महिनाअघि व्यवसायीहरू सुरक्षा माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत निवेदन दिएका थिए । 

अनुसन्धानका क्रममा बस्नेत, केन्द्रीय कारागारमा रहेका अर्का गुन्डा नाइके रमेश बाहुन (सुजन पौडेल) तथा जुम्ला कारागारमा रहेका रिगल ढकालबीच नियमित सम्पर्क देखिएको छ । ढकालले कारागारबाट प्रहरीकै मोबाइल प्रयोग गरी विभिन्न व्यक्तिलाई फोन गरेका थिए । उनले केही प्रहरी अधिकृतलाई समेत नियमित फोन गरेको अनुसन्धामा खुलेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad