नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस र बीडीएस गरेका इन्टर्न चिकित्सकको निर्वाह भत्ता समान रुपमा वितरण गर्न आग्रह गरेको छ।
बुधबार एनएमएले प्रेस विज्ञप्ति जारी गरी इन्टर्न चिकित्सकलाई दिइने निर्वाह भत्ता एक रुपता गराउन सरकारलाई आग्रह गरेको हो।
‘एमबीबीएस र बीडीएस गरेको इन्टर्न चिकित्सकहरूका जायज मागहरू अविलम्ब सम्बोधन गरी चिकित्सकहरूको स्टाइपेन्टमा देशव्यापी एकरूपता कायम गर्नुका साथै यस विषयमा गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
हाल एमबीबीएस र बीडीएस अध्ययनरत चिकित्सक आन्दोलनमा छन्। उनीहरू निर्वाह भत्तामा एकरुपता हुनुपर्ने माग गरिरहेका छन्।

चिकित्सकहरू अत्यधिक तनावका बावजूद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा उनीहरूलाई प्रदान गरिने भत्तामा समेत एकरुपता नहुनु र वैज्ञानिक ढंगले भत्ता वितरण नगरिनुले उनीहरूमाथि अन्याय भइरहेको प्रष्ट हुने संघले जनाएको छ।
इन्टर्न चिकित्सकको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदन समेत तयार गरिसकेको छ। तर प्रतिवेदन कार्यान्वयन हुन नसक्नु दुःखद रहेको संघले जनाएको छ।
आन्दोलनरत इन्टर्न चिकित्सकले बुधबार चिकित्सा शिक्षा आयोगअगाडि प्रर्दशन गर्दै छन्। माइतीघरमा प्रदर्शन गरिरहेका इन्टर्न चिकित्सक आज आयोग पुगेर आफ्नो मागबारे ध्यानाकर्षण गराउन लागेका हुन्।

Shares

प्रतिक्रिया