समाज


सांसद केसीद्वारा ‘सुप्रेम शारदा पत्रकार पुरस्कार’ घोषणा

सांसद केसीद्वारा ‘सुप्रेम शारदा पत्रकार पुरस्कार’ घोषणा

वाशुदेव मिश्र
भदौ ८, २०७६ आइतबार १०:५९,

 पोखरामा पत्रकारहरुको लागि अर्को एउटा पुरस्कार स्थापना गरिएको छ।

संघीय संसदका सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले आइतबार ‘सुप्रेम शारदा पत्रकार पुरस्कार’ घोषणा गरेपछि पोखराको पत्रकारितामा पुरस्कार थपिएको हो।

उद्योगपति समेत रहेका उनले आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा आफू र आफ्नी धर्मपत्नीको नामसमेत अगाडि जोडेर ६ लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका हुन्। सोही कोषको ब्याजबाट हरेक वर्ष गण्डकी प्रदेशमा कार्यरत पत्रकार महिलालाई विशेष प्राथमिकता दिने गरी पुरस्कार प्रदान गर्ने केसीको चाहना रहेको छ।

५१ हजार रुपैयाँ राशिको यो पुरस्कारको सञ्चालन प्रेस युनियक कास्कीले गर्नेछ। सुरुको वर्ष पत्रकार महिलालाई नै यो पुरस्कार प्रदान गरिनुपर्ने बताउँदै त्यसपछिका वर्षहरुमा भने त्यो प्रावधान बाध्यकारी नहुने उनले बताए।

पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन्। पत्रकारमैत्री समेत भनी चिनिने समाजसेवी केसी आफूलाई दिनमै आनन्द लाग्ने बताए। उनले पुरस्कार वितरणमा जात, धर्म, लिंग, आस्थाका आधारमा विभेद नगर्न सुझाब समेत दिए।

उद्योगपति केसीले आफ्ना पिता कीर्तिबहादुरको नाममा पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख प्रदान गरिसकेका छन्। उनले आउँदो दशैँमा देशभरका पत्रकारहरुको उपचारको लागि एक उपचार कोषको घोषणा गर्ने उद्घोष पनि गरे ।

पत्रकार हमालको रिहाई माग, राजबहादुरको उपचारमा सघाउन आग्रह
पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले कास्की प्रहरी हिरासतमा रहेका पत्रकार ओम हमालको विनासर्त रिहाईको माग गरेका छन्। कास्की प्रहरीले हमाललाई यही भदौ ६ गते विप्लव माओवादी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’सँगै पक्राउ गरेको थियो।

हमाल रुपेशको अन्तर्वार्ताको लागि गएको र सोही समयमा सादा पोशाकका प्रहरीले पक्राउ गरेको बताएका छन्। उनलाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धानको लागि भन्दै हिरासतमा राखेको छ। सांसद सूर्यबहादुर केसीले सत्यतथ्यको खोजी गर्ने पत्रकारलाई रिहा गर्न माग गरे।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले लोकतन्त्रमा आस्थाका आधारमा कोही व्यक्तिलाई सरकारले नियन्त्रणमा लिन नपाउने बताए। प्रेस युनियनका सल्लाकार रवीन्द्र बास्तोलाले प्रेसमाथि भएको हस्तक्षेपको विरुद्धमा एकजुट हुनुपर्ने बेला आएको बताए।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार हमालको रिहाईको लागि महासंघले कानूनी लडाईँ लड्ने बताए। प्रेस युनियनका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष विमला भण्डारी, युनियनका सचिव प्रदीप पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए। सोही अवसरमा प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोला प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका र कालिका बहुमुखी क्याम्पसको प्रमुख हुन सफल भएकोमा सो अवसरमा युनियनले सम्मान गरेको थियो।

यस्तै, युनियनका सल्लाहकार राजबहादुर गुरुङको थप उपचारार्थ आवश्यक रकम संकलनमा पहल गर्ने युनियनका सचिव प्रदीप पौडेलले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .