गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन्।
गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए।
स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ। पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको वडाध्यक्ष गुरुङले बताए। ‘उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ’, उनले भने, ‘थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन्’ वडाध्यक्ष गुरुङले भने, ‘पहिरोले पूरै क्षति भएको त होइन, बस्ती अत्यन्तै जोखिममा भने परेको छ।’
त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए।
गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उनले जानकारी दिए। त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ। रासस

प्रतिक्रिया