ad ad

समाज


विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनियर संघर्षमा

विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनियर संघर्षमा

नेपालखबर
असार २, २०७८ बुधबार ९:४७,

असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब इन्जिनियरले काम रोकी विरोध सुरु गरेका छन्।

शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो। असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए।

संघर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ। सबै कर्मचारीलाई पुनर्स्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ।

सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनियर र सब इन्जिनियरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ। जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए। थप संघर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .