कोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना अब कहिले सुरु होला भन्ने आम चासो छ।
हरेक १० वर्षमा गरिने जनगणना नियमित समयमा सुरु गर्न नसकिएको यो इतिहासमै पहिलोपटक हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार हरेक १० वर्षमा गरिने जनगणना तोकिएको मितिअनुसार हिजो जेठ २५ गते सुरु गरिनुपर्ने थियो। तर कोरोना महामारीले गर्दा नियमित समयमा सुरु गर्न नसकिएको यो पहिलो घटना हो।
विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार अब महामारी कम भएर अवस्था सह बनेमा मध्य साउनदेखि मध्य असोजसम्ममा जनगणना थालिने योजना छ।
जनगणनाका लागि भनेर तथ्यांक विभागले सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरी ८ हजार सुपरीवेक्षक र ३९ हजार गणकसमेत छनोट गरिसकेको थियो भने। तर कोरोना महामारी भयावह बनेपछि जनगणना रोक्नुपरेको हो।
नेपालमा १९६८ सालमा राष्ट्रिय जनगणना सुरु गरिएको थियो। त्यसयता हरेक १० वर्षमा जनगणना भइरहेको छ।

प्रतिक्रिया