दोलखामा पहिरोले पुरिँदा एक शिशुको मृत्यु भएको छ। घटनामा शिशुकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोक गाउँपालिका- १ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामीकी चार महिने छोरी एलिनाको पहिरोमा परेर मृत्यु भएको हो।
पहिरोमा परेर शर्मीला गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिए।
गएराति ९ बजे भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट घर फर्किने क्रममा शर्मीलाका आमाछोरी पहिरोमा परेका हुन्।
माइतबाट शर्मीला छोरी लिएर गाडीमा घर फर्किँदै थिइन्। सुनखानी–साङवा सडक खण्डमा पर्ने क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएपछि शर्मीला गाडीबाट ओर्लिएर हिँड्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
सडकमा हिँड्दै गर्दा एक्कासी खसेको पहिरोमा आमाछोरी परेका खड्काले बताए।
गम्भीर घाइते आमाछोरीलाई स्थानीयले उद्धार गरेर दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए। अस्पताल पुर्याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया