राजनीति


संसद् विघटन मुद्दा सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै

संसद् विघटन मुद्दा सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै

नेपालखबर
जेठ २६, २०७८ बुधबार १:५१,

संसद् विघटन तथा प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलास आज बस्दै छ।

यसअघि सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएका कारण स्थगित इजलास आज बस्ने भएको हो।

पहिलेको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि गत आइतबार प्रधानन्यायाधीशको नेतृत्वमा पुनर्गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन्।

तर यस इजलासले पनि संसद् विघटन मुद्दा हेर्न नपाउने भन्दै सरकारी पक्षका वकिलले बखेडा झिकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबारका लागि पेसी तोकिएको थियो। तर त्यस दिन प्रधानन्यायाधीश अस्वस्थ भएको भन्दै सुनुवाइ स्थगन गरिएको थियो।

अब इजलास आज बस्ने सर्वाेच्च अदालतले जनाएको छ।

सरकारी पक्षका वकिलको विरोधका बीच आज सुनुवाइ कसरी अघि बढ्ला भन्ने आम चासो छ।

यो पनि : इजलास गठनमा फेरि सरकार पक्षको विरोध : पहिलेकै हुनुपर्ने जिकिर

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित सुनुवाइ सुरु नै हुन सकेको छैन।

संसद् विघटन र प्रधानमन्त्री नियुक्ति विवादमा सर्वाेच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्। जसमा प्रधानमन्त्री ओलीकै पक्षबाट पनि ४ वटा निवेदन छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले यही जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गराउने घोषणा गरेकी छन्।

त्यसअघि उनकै आह्वानअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी प्रस्तुत गरे पनि बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफ्ना पक्षमा रहेको दाबी गरेपछि राष्ट्रपतिले दुवैको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन्।

त्यहीविरुद्ध देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad