सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिने प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।
महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुमा कार्यरत प्रहरी जवानहरु देवेन्द्र बलायर, हिटलर साउद र लाेकेन्द्र थापालाई जनही बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हाे।
अख्तियारकाे टाेलीले प्रहरी जवानहरु देबेन्द्र बलायर, अकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा प्रहरी जवान बलायर,साउद र थापा समेतको प्रत्यक्ष संलग्नता एवं एक आपसमा मिलेमतो गरी दुर्घटना सिफारिस दिए बापत सेवाग्राहीसँग रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको आयोगको ठहर छ।
यस्तै, प्रहरी जवान देवेन्द्र बलायरसँगै नियन्त्रणमा लिइएका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस रिसवत लिने कार्यमा प्रत्यक्ष संलग्नता रहे भएको नदेखिएता पनि उनीहरूले घटनाको सम्पूर्ण तथ्य खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा मुद्दा नचलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१५) र भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा पेश गर्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया