समाज


कोरोना कहर : घाटमा बुवाको चिता जल्दै गर्दा अस्पतालमा छोराको मृत्यु

कोरोना कहर : घाटमा बुवाको चिता जल्दै गर्दा अस्पतालमा छोराको मृत्यु

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ३:२२,

दाङको बबई गाउँपालिकामा कोरोना संक्रमणको कारण एक दिनको फरकमा बाबु-छोराकै मृत्यु भएको छ।

बबई गाउँपालिका ४ ट्वाङखोलानिवासी पत्रकार लक्ष्मण बस्नेत र उनका बुवा टोपबहादुर बस्नेतको एक दिनको फरकमा मृत्यु भएको हो। बुवाको आइतबार राति र छोराको सोमबार दिउँसो मृत्यु भएको बबई गाउँपालिकाका सूचना अधिकारी भुवन चन्द वालानले जानकारी दिए।

‘आइतबार राति मृत्यु भएका बुवा टोपबहादुरको सोमबार बिहान स्थानीय घाटमा दाहसंस्कार हुँदै थियो,’ बालानले मंगलबार बिहान नेपालखबरसँग भने, ‘मलामी घाटमै भएको बेला छोरा लक्ष्मणको पनि मृत्यु भएको खबर आयो। उहाँको पनि सोमबार राति नै अन्त्यष्ठि भइसकेको छ।’

भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आइतबार साँझ टोपबहादुरको मृत्यु भएको थियो। उनको शव सोमबार घर लगेर दाहसंस्कारका लागि घाटमा लगिएको थियो। सोमबार दिउँसो बाबुको शव चितामा जल्दै गर्दा छोराको पनि अस्पतालमा मृत्यु भएको हो।

पत्रकार लक्ष्मण र उनका बुबा तीन साताअघि देखि नै बिरामी थिए। कोरोना पोजिटिभ भएका दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो। यद्यपी उनीहरुको पछिल्लो कोरोना रिपोर्ट भने नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ।

उपचारको क्रममा रहेका बुवाको आइतबार राति नै मृत्यु भए पनि सोही अस्पतालमा उपचार गराइरहेका लक्ष्मणलाई भने त्यसको जानकारी दिइएको थिएन। आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको गाउँपालिकाका प्रेस सल्लाहकार प्रेमबहादुर राम्जाले जानकारी दिए।

‘६ दिनअघि गरिएको परीक्षणमा छोराको र ४ दिनअघि गरिएको परीक्षणमा बाबुको रिपोर्ट नेगेटिभ आएको थियो,’ राम्जाले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि उहाँहरुको अवस्था भने गम्भीर थियो। आखिर कोरोनाकै कारण बाबुछोराकै मृत्यु भयो।’

कोरोना संक्रमणको कारण बाबुछोराकै मृत्यु भएपछि बस्नेत परिवार र सिंगो गाउँ शोकमा डुबेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad