बिहीबार दिउँसो त्रिपुरेश्वरमा आफैँलाई आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भयो। उनको निधनपछि सरकारविरुद्ध सडकदेखि सदनसम्म विरोध सुरु भएको छ।
बिहीबार बिहान ११ बजेपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्किङको विषयमा सुरु भएको विवाद क्षणभरमै गणेशको जीवन सिध्याउने माध्यम बन्यो।
गणेश र नगर प्रहरीबिच कसरी सुरु भएको थियो विवाद र त्यसपछ के के भयो भन्ने विषयमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ।
प्रहरीका अनुसार बिहान ११:१० मा त्रिपुरेश्वरस्थित राहदानी विभागको २ नम्बर गेटअगाडि सडकमा नो पार्किङ लेखिएको स्थानमा गणेश नेपालीले बा प्र ०२–०६४ प ३२५० नम्बरको कालो रातो रङको पल्सर एनएस मोटरसाइकल पार्किङ गरी राखेका थिए।
जतिबेला त्यहाँ काठमाडौँ महानगर प्रहरी बलबाट नगर प्रहरी जवान मीना नगरोकोटी र मीना तामाङ पार्किङ तथा फुटपाथ डिउटीमा खटिएका थिए।
बिहान ११:१० बजेतिर नगर प्रहरी जवान मीना नगरोकोटी सिठी फुक्दै गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको स्थानमा पुगिन्।
‘यहाँ पार्किङ गर्न मिल्दैन, अन्य कतै लगेर पार्किङ गर्नुहोला’ भनिन्।
तर गणेशले नगर प्रहरीलाई अटेर गरेको प्रहरीको दाबी छ।
नगर प्रहरी जवान मीना नगरकोटीले मोटरसाइकल नहटाए ‘ह्विल लक’ गरिदिन्छु भन्दै गणेशलाई चेतावनी दिइन्। त्यस क्रममा गणेश र मीनाबिच केही बेर भनाभन भयो।
मीनाले आफ्नो मोबाइल निकाली गणेशसँग भएको वादविवादको भिडिओ बनाउन थालिन्। त्यसपछि गणेश नेपाली उक्त स्थानबाट मोटरसाइकल लिएर राहदानी विभागको ३ नम्बर गेटतर्फ गए।
बिहान ११:२० बजे नगर प्रहरी जवान मीना नगरकोटी सिठी फुक्दै राहदानी विभागको ३ नम्बर गेटअगाडि सडकमा पुग्छिन्।
‘नो पार्किङ’ लेखिएको स्थानमा पुग्दा गणेश नेपाली मोटरसाईकल पार्किङ गरेर बसिरहेका हुन्छन्। नगर प्रहरी जवानले साथबाट ह्विल लक निकालेर गणेशको मोटरसाइकलको पछाडिको टायरमा लगाइदिन्छन्।
बिहान ११:२६ बजे नगर प्रहरी जवान मीना नगरकोटी र गणेश नेपालीबिच वादविवाद हुन्छ। त्यो देखेर वरपरका मानिसको भिड लाग्छ। सार्वजनिक अडिओमा उक्त दृश्य देखिन्छ।
नगर प्रहरी जवान भन्छिन्: कहाँ जानुहुन्छ जानु, किन भागेर आएको?
गणेश: किन भागेर, कहाँ रोकेको थियो भन्नु न?
माथिल्लो होटल क्याफे।
बाइकमा बस्दा लक लगाउँछन्?
के अनि भनेको नमान्ने? मिल्दैन भनेँ त मैले के गर्नुहुन्छ? के भन्नु भो मिल्दैन भनेँ त मैले। मेरो मोबाइल झारेर किन भागेर आएको?
अनि तपाईंले किन लक लगाएको त नि?
नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाएर के लगाउने? मला लाइदिने?
यस्तै भनाभन हुन्छ केही बेर।
बिहान ११:५५ बजे नगर प्रहरी जवान मीना नगरकोटीले आफू कार्यरत कार्यालयमा फोन गरी एउटा मोटरसाइकलमा ह्विल लक लगाएको छु, उक्त मोटरसाइकललाई कार्यालयसम्म लैजान गाडी पठाइदिनुपर्यो भन्दै रिपोर्ट गर्छिन्।
दिउँसो १२ बजेतिर प्रहरी बिट टेकुबाट डिउटीमा खटिएका प्रहरी हवलदार विकास बुढाथोकी उक्त स्थानमा पुग्छन्।
आफूले ह्विल लक गरेपछि गणेशले अश्लील प्रयोग गरेको जानकारी प्रहरीलाई दिन्छिन्।
प्रहरी हवलदार बुढाथोकीले गणेश नेपालीसँग प्रारम्भिक सोधपुछ गर्छन् र राहदानी विभागको मुख्य गेटतर्फ जान्छन्।
त्यसपछि गणेश राहदानी विभागको २ नम्बर गेट र मोटरसाइकल ह्विल लक गरेको स्थान ओहोरदोहोर गर्छन्।
दिउँसो १२:१२ बजे गणेश नेपालीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर पानीको बोतलमा हाल्छन्।
महानगर प्रहरी जवान मीना तामाङले त्यो देख्छिन्। किन पेट्रोल बोतलमा निकालेको भन्दै सोध्छिन्।
गणेशले आफ्नो मोटरसाइकलको पेट्रोल निकाल्न नपाउने भन्दै जवाफ फर्काउँछन्।
पेट्रोलसहितको बोतल आफ्नो ज्याकेटको भित्री गोजिमा राख्छन् र त्यहाँबाट हिँड्छन्। उनलाई पेट्रोल निकाल्न अर्का एक व्यक्तिले पनि सहयोग गरेको सीसीटीभीमा देखिएको प्रहरीको दाबी छ।
दिउँसो १:३६ बजे उक्त स्थानमा काठमाडौँ महानगर प्रहरी बलको गाडी पुग्छ।
दिउँसो १:३७ बजे गणेश नेपाली राहदानी विभागको २ नम्बर गेटतिरबाट शरीरमा पेट्रोल छर्की आगो लगाएर दौडिँदै राहादानी ३ नम्बर गेटअगाडि पुग्छन्।
दिउँसो १:३८ बजे नागरिकसमेतको सहकार्यमा आगो निभाइएको प्रहरीको दाबी छ।
दिउँसो १:३९ बजे प्रहरीले उद्धार गरी उपचारका लागि समन्वय गर्छ। उपत्यका प्रहरी कार्यालयको कन्ट्रोलबाट दिउँसो १:४५ बजे घटनाबारे सञ्चार सेटबाट जानकारी गराई तत्काल घटनास्थलमा प्रहरी टोली पुग्छ।
त्यहाँ रहेका सर्वसाधारण नागरिकको समेत सहयोगमा प्रहरीले शरीरका विभिन्न भाग जलेको अवस्थामा गणेश नेपालीलाई उद्धार गर्छ र प्रहरी हवलदार विकास बुढाथोकी बा २ ज १५८० नम्बरको ट्याक्सीमा राखी वीर अस्पताल लैजान्छन्।
त्यसपछि डीएसपीको कमान्डमा टोली त्रिपुरेश्वरस्थित घटनास्थल पुग्छ र प्रत्यक्षदर्शीसँग सोधपुछ गर्छ। प्रहरी वृत्त कालीमाटीबाट गएको टोलीले घटनास्थल मुचुल्का गर्छ।
अनुसन्धानका लागि बोतल, लाइटर तथा घाइतेको जलेको कपडा समेत संकलन गर्छ।
प्रहरी वृत्त जनसेवाको अपराध अनुसन्धान शाखाबाट गएको टोलीले वीर अस्पताल पुगेर घाइतेसँग सोधपुछ गर्दै भिडिओ बनाउँछ। घटनाबारे प्रत्यक्षदर्शीहरूलाई पनि सोधपुछ गर्छ। घटनास्थलसम्बन्धी भिडिओ संकलन गर्छ।
प्रहरीले प्रत्यक्षदर्शी मनिष सिंह गोदार, कमल चौलागाई, सुरेश तन्डुकार, प्रहरी हवलदार विकास बुढाथोकी, नगर प्रहरी जवान मीना नगरकोटी, मीना तामाङसमेतका मानिसहरूको घटना विवरण कागज तयार गरेको छ।
घाइते गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११:१९ बजे मृत्यु भएको वीर अस्पतालले पुष्टि गरेको छ।
Shares

प्रतिक्रिया