पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रारुप परिवर्तन गर्ने कार्य अघि बढाएको छ।
यसका लागि विज्ञ एवं सरोकारवालासँग छलफल गरेको छ। शुक्रबार आयोजित पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयनसम्बन्धी अनुभव आदानप्रदान कार्यशालामा राष्ट्रिय पाठ्यक्रम प्रारूप (एनसी) पुनरावलोकन कार्यदलका सदस्य, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा समीक्षा कार्यालय, पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने शिक्षकसहित करिब ५० जनाको सहभागिता रहेको थियो।
कार्यशालाको उद्घाटन गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि पाठ्यक्रम कार्यान्वयनका अनुभव, चुनौती र सफल अभ्यासहरूको आदानप्रदान आवश्यक रहेको बताए। त्यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विद्यालय शिक्षाको नीतिगत दिशा र पाठ्यक्रम सुधारका प्राथमिकताबारे धारणा प्रस्तुत गरेका थिए।
कार्यशालाको प्यानल छलफलमा डा. लवदेव अवस्थी, डा. हरि लम्साल, डा. विश्वबाला थापा र डा. लेखनाथ पौडेलले पाठ्यक्रम कार्यान्वयनका अनुभव, नीतिगत सुधार र विद्यालय शिक्षाको रूपान्तरणका सम्भावनाबारे विचार राखेका थिए। छलफलको सहजीकरण पवित्रबहादुर गौतमले गरेका थिए।
त्यस्तै, समापन सत्रमा डा. मीनाक्षी दाहाल र प्रा.डा. बालचन्द्र लुइँटेलले कार्यशालाबाट प्राप्त मुख्य निष्कर्ष, सुझाव तथा आगामी कार्यदिशाबारे प्रकाश पारेका थिए।
Shares

प्रतिक्रिया