ad ad

समाज


नेपालमा पनि सुरु भयो शक्तिशाली चक्रवातको प्रभाव

नेपालमा पनि सुरु भयो शक्तिशाली चक्रवातको प्रभाव

नेपालखबर
जेठ ३, २०७८ सोमबार १:४५,

भारतमा विनास गर्न थालेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि आज (सोमबार) बिहानै सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अरब सागरमा विकसित शक्तिशाली चक्रवातको असर सोचेभन्दा अलि चाँडै सुरु भएको हो।

‘हामीले यसको असर आज दिउँसो, साँझतिरदेखि असर सुरु होला भन्ने अनुमान गरेका थियौं, तर बिहानैदेखि आंशिक प्रभाव परिसकेको छ,’ सोमबार बिहान मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘खासगरी पश्चिमी भूभागमा, साथै काठमाडौं उपत्यकामा पनि।’ 

उनका अनुसार चक्रवातको असरका कारण देशको पश्चिमी आकाशमा माथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ।

‘काठमाडौं उपत्यकाको आकाश पनि हेर्नुभयो भने माथि माथि सेतो बादल देख्न सकिन्छ, ’ उनले भने, ‘चक्रवातको असर भरे, भोलि बढ्दै जान्छ।’

यसको निरन्तर अपडेट गरिरहनुपर्ने उनले बताए।

यस विषयमा मौसम पूर्वानुमान महाशाखाले आइतबारै साँझ विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।

महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा अति शक्तिशाली चक्रवात विकास भएको हो। भारतमा जसको नाम ‘ताउतेई’ (TaukTae) राखिएको छ। नेपालमा त्यसको प्रत्यक्ष प्रभाव नपरे पनि केही असर पर्नेभएको/परेको हो।

यो पनि : अति शक्तिशाली चक्रवातको असर नेपालमा पनि पर्दैछ, सजग रहनू : मौसमविद्

यो चक्रवातका कारण भारतमा आइतबारदेखि नै क्षति हुन थालिसकेको छ। आज साँझसम्म यो चक्रवात अरब सागरबाट भारतको गुजरातमा आइपुग्ने अनुमान त्यहाँका मौसमविद्ले गरेका छन्। अहिले त्यहाँका स्थानीय आतंकित भएका छन् भने अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितलाई पनि अन्यत्र सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालका मौसमविद्का अनुसार चक्रवात आज गुजरातमा जमिनमा प्रवेश गरेपछि त्यसले फरक स्वरूप तथा दिशा लिन सक्छ। र, त्यस आधारमा नेपालमा पर्ने असर घटीबढी हुने सम्भावना पनि छ। त्यसका लागि आफूहरूले त्यस चक्रवातको अवस्थाबारे घण्टाघण्टामा निगरानी गरिरहेको मौसमविद् अर्यालले बताए।

यो पनि : शक्तिशाली चक्रवात आज गुजरातमा बज्रिने अनुमान, स्थानीय आतंकित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .