ad ad

छापा खबर


काठमाडौंमा फेरि वायु प्रदूषण उच्च, गाडी नगुड्दा पनि किन यस्तो भयो?

काठमाडौंमा फेरि वायु प्रदूषण उच्च, गाडी नगुड्दा पनि किन यस्तो भयो?

नेपालखबर
जेठ ३, २०७८ सोमबार १:१५,

राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ। कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन्। तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ। यस्तो किन भएको होला ?

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय सहरमध्ये काठमाडौं छैटौं स्थानमा थियो। त्यस दिन काठमाडौंको वायु प्रदूषण मापक सूचकांक (एक्युआई) ११० थियो।

निषेधाज्ञा जारी भएको तेस्रो सातामा आइपुग्दा आइतबार साँझ ६ बजे काठमाडौं ८७ अंकसहित १०औं स्थानमा छ। पहिलो स्थानमा १७६ अंकसहित चिलीको सान्टियागो छ। आइतबार बिहान ७ः४५ बजे काठमाडौंको एक्युआई १२७ थियो। चैतको दोस्रो साता देशका विभिन्न जिल्लामा लागेको डढेलो र धेरै दिनसम्म पानी नपर्दा विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा थियो। त्यति बेला काठमाडौंको एक्युआई ३०० नाघेको थियो।

जनस्वास्थ्यमा प्रभावको हिसाबले एक्युआई ० देखि ५० सम्म रहेको अवस्थालाई स्वस्थकर र ५१ अंक देखि १०० सम्मको अवस्थालाई मध्यम (मोडरेट) तह मानिन्छ। मध्यम तहमा अस्वाभाविक हिसाबले संवेदनशील मानिस धेरै समयसम्म घरबाहिर निस्कन हुँदैन। यसैगरी १०१ देखि १५० सम्म हुँदा संवेदनशील मानिसका लागि अस्वस्थकर मानिएको छ। प्रदूषणको यस तहमा बालबालिका र श्वासप्रश्वासमा समस्या भएका प्रौढ घरबाहिर धेरै समस्यसम्म रहन नहुने विज्ञ बताउँछन्।

जारी निषेधाज्ञाले सार्वजनिक यातायात पूरै ठप्प रहेको अवस्थामा काठमाडौँमा प्रदूषण उच्च देखिनु अध्ययनको विषय बनेको छ। प्रश्न उठेको छ– के यातायातका कारण निस्कने धुवाँधुलो राजधानीको प्रदूषणका लागि प्रमुख कारण हो त ?

राजधानीको अत्यधिक प्रदूषणका लागि गाडीको धुवाँ, कलकारखाना विशेषगरी इँटा उद्योगबाट निस्कने धुवाँ, सडकको धुलो, घरबाहिर जलाइने फोहोरलगायतलाई कारक मानिएको छ। यति बेला यातायात लगभग ठप्प छ भने उपत्यकामा सय हाराहारीमा रहेका इँटा उद्योग पनि बन्द छन्।

निषेधाज्ञा अवधिमा पनि राजधानीको वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारण के होला? वायुमण्डलमा रहेका सूक्ष्म कणको बनावट अध्ययन गरेर तिनको उत्पत्ति कहाँ र कसरी भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन्। यो खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

त्यसो त स्थानीय कारणसँगसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य बाली खेतमा डढाउँदा निस्कने उत्सर्जनसहितको प्रदूषित हाबाको वहाब राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ। यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन्।

निषेधाज्ञापछि राजधानीमा वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारणबारे प्रदूषणको कारक मानिएका सूक्ष्म कणको बनावट अध्ययन गरेर त्यसको उत्पत्ति कसरी र कहाँ भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन्। ‘अहिले पनि वायु प्रदूषण उच्च रहनुले यसमा स्थानीय भन्दा बाह्य कारण बढी जिम्मेवार रहेको प्रस्ट भएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्।

वायु प्रदूषणको स्रोतसम्बन्धी विषयमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेकी पाटन बहुमुखी क्याम्पस वातावरण विभागकी प्रमुख डा.शीला मास्के वैद्य अहिलेसम्म गाडी र कलकारखानबाट निस्कने उत्सर्जनमा मात्रै ध्यान केन्द्रित भएको बताउँदै थप्छिन्, ‘सही उत्तरका लागि वायु प्रदूषणका कणको बनावटको लगातार अध्ययन हुनुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .