ad ad

समाज


भारतबाट फर्किनेलाई व्यवस्थापन नगर्दा कोरोनाको ‘हटस्पट’ बन्दै कैलाली-कञ्चनपुर

भारतबाट फर्किनेलाई व्यवस्थापन नगर्दा कोरोनाको ‘हटस्पट’ बन्दै कैलाली-कञ्चनपुर

गोकुल जोशी
बैशाख १४, २०७८ मंगलबार १५:२८,

भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किएका भीमदत्त नगरपालिका–११ का ४० वर्षीय एक पुरुषलाई गड्डाचौकी पुग्दा श्वासप्रश्वासमा निकै समस्या देखियो। उनलाई तत्कालै एम्बुलेन्समा ल्याइ महाकाली अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरियो। तर उपचारकै क्रममा उनले सोमबार राति ११ बजे प्राण त्यागे।

पछिल्लो समय कोरोनाका कारण कञ्चनपुर र कैलालीमा दैनिक सरदर चार-पाँच जनाको मृत्यु भइरहेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा महाकाली अस्पतालमा उपचाररत तीन संक्रमितकोे मृत्यु भएको छ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका भाँसीका ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार वैशाख १३ गते कञ्चनपुरमा भीमदत्त नगरपालिका–१५ र ४ का एक÷एक र वैशाख ११ गते २ संक्रमितको मृत्यु भएको थियो।

कञ्चनपुरमा कोरोना संक्रमणका कारण अहिलेसम्म २१ जनाको ज्यान गएको छ। ती मध्ये १४ जनाले कोरोनाको पहिलो लहरमा ज्यान गुमाउनु परेको थियो।पछिल्लो चार दिनको अवधिमा कञ्चनपुरमा कोरोना संक्रमणका कारण मृत्युदर ह्वात्तै बढेको हो।

उता, कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुको बेदकोट नगरपालिका–१ का ४८ वर्षीया र कैलालीको गौरीगंगा नगरपालिका–५ की ३५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै, कैलालीमा कोरोना कारण अहिलेसम्म ४६ जनाले ज्यान गुमाउनु परेको स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए।

संक्रमण ह्वात्तै बढ्यो
सुदूरपश्चिमका दुई तराईका जिल्ला कञ्चनपुर र कैलालीमा पछिल्लो समय संक्रमण बढ्दो क्रममा छ।

संक्रमणको दोस्रो लहरले प्रभावित भारतसँग खुला सिमानाका भएका कारण यी क्षेत्र कोरोनाको ‘हटस्पट’ बन्दै गएको चिकित्सक बताउँछन्। सुदूरपश्चिमका अन्य जिल्ला भन्दा कञ्चनपुर र कैलालीमा संक्रमण तीव्र रुपमा बढिरहेको हो।

भारतसँग खुला सीमा रहेका कारण आवातजावत हुने तर चेकजाँच र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन लापरबाही हुनाले संक्रमण तीव्र रुपमा फैलिरहेको सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले बताए।

स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या चार सय ७ पुगेको छ भने कञ्चनपुरमा दुई सय ३९ छ। भारतबाट फर्किएकाहरुमा संक्रमण पुष्टि भइरहेको हो।

मंगलवार मात्रै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको एन्टिजेन परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उता गौरीफन्टा नाकामा पाँच सय ७० जनाको परीक्षण गर्दा ७० जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ।

‘संक्रमण अनियन्त्रित भइसक्यो, धान्न नसकिने अवस्था आउन सक्छ’
कोरोना संक्रमणको दोस्रो लहर अनियन्त्रित भएको चिकित्सकहरुको निष्कर्ष छ। सुदूरपश्चिममा यही गतिमा संक्रमण फैलिएमा भयावहको स्थितिको सामना गर्नु पर्ने उनीहरुले चेतावनी दिएका छन्।

भारतबाट आउनेहरुमा संक्रमण तीव्र भएकाले संक्रमित संख्या अझै बढ्ने डा. कमरको विश्लेषण छ।

‘कोरोनाको नयाँ जेनेटिक शक्तिशाली भएर आएको छ। अहिले हाम्रो अवस्था अनियन्त्रित भइसकेको छ। यो पिकमा पुगेर विस्तारै कम हुदै त जान्छ। तर कति समय लाग्छ र कतिको क्षति गर्छ भन्ने अनुमान गर्न गाह्राे छ।’ उनले नेपालखबरसँग भने, ‘संक्रमण अनियन्त्रित भएको छ। अहिलेको पूर्वाधार र व्यवस्थापनले धान्न नसक्ने अवस्था आउन सक्छ।’

उता संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन, स्थानीय तह र प्रदेश सरकार लाचार बनेका छन्। संक्रमण तीव्र रुपमा फैलिरहेकोले अस्पताल पुरै भरिभराउ हुन थालेका छन्।

तर स्थानीय तहले संक्रमितका लागि आइसोलेसन र भारतबाट फर्किनेहरुलाई राख्न क्यारेन्टिन तथा प्रशासनले नाकामा स्वदेश आउने क्रमलाई व्यवस्थित गर्न नसकेकाले संक्रमण अझै बढ्ने अनुमान छ।

कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .