समाज


कोरोनाले बदलियो जिन्दगीको बाटो, फेरियो गाउँको मुहार

कोरोनाले बदलियो जिन्दगीको बाटो, फेरियो गाउँको मुहार

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ३:५०,

काठमाडौँमा होटल व्यवसाय गरी बस्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो।

जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताएका ज्यामरुककोट सानालेखका ध्रुब थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बसिरहेका छन्।

जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारबाट फर्किए। उनी अहिले फलफूल खेती र पशुपालनमा जमेका छन्।

त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका टेकबहादुर बुद्धुजालगायत जिल्लाका तीसभन्दा बढी युवा विदेश र शहरको बसाइँलाई बिट मारेर गाउँ फर्किएका मात्रै छैनन्, कृषि र उद्योगजन्य व्यवसाय लागेर गाउँमै पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश पनि दिएका छन्।

विदेश र शहरबाट गाउँ फर्केर कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको यस क्षेत्रका व्यापारीले बताएका छन्। शहर र विदेशमा सिकेको सीप एवं प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएको मङ्गला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक जगत बानियाँले बताए।

धान फल्ने १६ रोपनी खेतमा मालभोग र रानीजातका केराखेती गरेका दुर्गाबहादुरले कोरिया र काठमाडौँको रोजगारी भन्दा आफ्नै गाउँको माटोमा गरिएको व्यवसायले बढी आनन्द दिएको बताए। ‘पैसाको खोजीमा कहाँकहाँ भौतारिइयो, तर कतै पनि सन्तुष्ट हुन सकिएन’, ५२ वर्षीय थापाले भने, ‘तर पैसाको सुगन्ध त आफ्नै माटोमा पो पाइँदोरहेछ।’ उनले १४ वर्ष कोरियामा पोखेको पसिनाको मूल्यभन्दा गाउँमै गरेको श्रमको प्रतिफल निकै मीठो भएको बताए।

थापाले जस्तै विदेश र शहर बसेर गाउँ फर्किएका धेरै युवाले गाउँको माटोमै पैसा फलेको बताउन थालेका छन्।

भारतको मुम्बईस्थित पाँचतारे होटलमा कुकको काम गरेका बगरफाँटका गणेश घिमिरे र युएईको एक होटलमा १० वर्षसम्म काम गरी गत वर्ष गाउँ फर्केर होटल व्यवसाय सञ्चालन गरेका राजु कार्कीले आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन्। त्यसबाट प्राप्त हुने आम्दानीको मज्जै बेग्लै हुने गरेको घिमिरेले बताए।

घिमिरेले गाउँमा नै होटल तथा रेष्टुरेन्ट सञ्चालन सुरु गरेका छन् भने कार्कीले म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा सञ्चालित लभ्लीहिल रेष्टुरेन्टमा कुकको काम गर्दै आएका छन्।

थापा, छन्त्याल, कार्की, घिमिरे, सापकोटा र फगामीजस्ता धेरै व्यक्ति अहिले शहर छाडेर गाउँ फर्किएका छन्। गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरू गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ।

यसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेशा/व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरू फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ।

युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका ८६ वर्षीय रणबहादुर घिमिरेले बताए। ‘पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ’, घिमिरेले भने, ‘आपतविपद्, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दोरहेछ।’

गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा ५०० बढी मालभोग जातका केराका बिरुवा लगाएका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताए।

वर्षौँदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन्। कोरोनाका कारण उद्योग, शिक्षा, रोजगारलगायत धेरै क्षेत्र प्रभावित भएका छन् । तर कृषि र स्वास्थ्य क्षेत्रमा भने निकै सुधारका सङ्केत देखिएका सरोकारवालाको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad