मनसुन सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा विपद्का विभिन्न घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार, पछिल्लो २४ घण्टामा देशभर ४२ वटा विपद्जन्य घटना दर्ता भएका छन्। त्यस्तै, १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ। पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
त्यस्तै, पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन्। सर्पको टोकाइबाट ६ जना घाइते भएका छन्। आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन्।
वर्षा र पहिरोका कारण मुलुकका ६ वटा मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी, वैशाख १ देखि हालसम्म प्राकृतिक विपद्का घटनामा ठूलो मानवीय क्षति भएको तथ्यांक छ। पछिल्लो तीन महिनामा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ।
त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको प्राधिरकणले जनाएको छ।
हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ। त्यस्तै ढुंगा पल्टेर दुई जना, वन डढेलोबाट एक र हिउँ पहिरोबाट एक जनाको मृत्यु भएको छ।
वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट १६४ जनाको मृत्यु भएको प्राधिरकणले जनाएको छ। यसैगरी, तीन हजार ३८९ विपद्का घटना भएका छन्। यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९८१ जना घाइते भएका छन्।
त्यस्तै, चार हजा ५०५ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट एक हजार ३५६ र आगलागीबाट एक हजार परिवार प्रभावित छन्।
सर्पदंशबाट ५३३ परिवार, चट्याङबाट २७५ परिवार, लेक लाग्नेबाट ५४ परिवार र जनावर आक्रमणबाट २९६ परिवार प्रभावित छन्।
Shares

प्रतिक्रिया