समाज


बंगाल खाडीमा विकसित मनसुन प्रणाली उत्तर-पश्चिम सर्दै, नेपालमा २ दिन धेरै ठुलो वर्षाको सम्भावना

बंगाल खाडीमा विकसित मनसुन प्रणाली उत्तर-पश्चिम सर्दै, नेपालमा २ दिन धेरै ठुलो वर्षाको सम्भावना

बंगालको खाडी (फाइल फोटो)


नेपालखबर
साउन २, २०८३ शनिबार ९:३५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) ‘विशेष मौसम बुलेटिन’ जारी गर्दै आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। 

उल्लिखित २ दिन भीषण वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्नका निम्ति सबै नागरिकलाई सतर्क रहन मौसम महाशाखाले सुझाव दिएको छ। 

मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना देखिएको हो। 

सूचनामा भनिएको छ, ‘मिति २०८३/०४/२ गते शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि बढ्न गई देशका हिमाली/पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ।’

आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भूभागको धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर अधिकांश बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभाग, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ।

काठमाडौँ उपत्यकामा दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा पनि आज (शनिबार) बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

‘आज काठमाडौँ उपत्यकामा दिउँसो मध्यम र राति भारी वर्षाको सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad