समाज


काठमाडौंका थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गरिँदै

काठमाडौंका थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गरिँदै

नेपालखबर
चैत ३१, २०७७ मंगलबार २:४६,

सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ।

चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ।

काठमाडौँ उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए। ट्राफिक बत्तीका केही सामान आइसकेका छन्।

ओझाका अनुसार सामान आएकामा त्यसको ‘प्रोजामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । पाँच ठाउँमा बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ।

विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेको थियो । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको ओझाले बताए।

तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको हो।

विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन् । कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । अरु निकायले जडान गरेको बत्ती पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने प्रमुख ओझाले जानकारी दिए।

विभागले थप अरु छ/सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ। चक्रपथको कोटेश्वरबाट–कलङ्की खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी वर्ष हुनेछ । काठमाडौँ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ । वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको झाले जानकारी दिए।

बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ । अझै पनि कतिपय यात्रु र चालकले बत्तीको सङ्केत नबुझेर त कतिले बुझे पनि बेवास्ता गरेकाले त्यसको पालना गराउन ट्राफिक प्रहरी चोकचोकमा खटिएको देख्न सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad