बाँकेको नरैनापुरमा शनिबार आगलागी हुँदा सयभन्दा धेरै घर-गोठ जलेका छन्।
नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदावामा भएको आगलागीबाट १ सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए। दिउँसो लागेको आगो साँझ नियन्णमा आएको छ।
नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्।
आगलागीमा तीन जना घाइते भएका छन्। घाइते तीनैजना महिला हुन्। उनीहरुको नेपालगन्जमा उपचार भइरहेको छ।
घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित सुरक्षा निकाएको टोली घटनास्थल पुगेको छ।
आगलागी पीडितलाई राहत वितरणको काम गरिरहेको एसपी रानाले बताए। रातिका लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको छ।
आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका थप प्याकेज ल्याउने तयारी प्रशासनको छ। खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तिव्र हावाहुरीका कारण धेरै क्षति भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया