सिरहाको लहान मालापोत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरका २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्।
गत चैत १ गते मालपोत कार्यालयको पहिलो तलामा भएको बम विस्फोटमा ८ जना घाइते भएका थिए। प्रेसर कुकर बम विस्फोटमा परी कार्यालयमा समेत क्षति पुगेको छ। बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो। घटनास्थलमा समेत उक्त समूहको पर्चा फेला परेको थियो।
बम विस्फोट अध्यक्ष जयकृष्ण गोइतकै निर्देशनमा भएको पाइएको छ। पक्राउ परेका यादवले आरके भन्ने रामकुमार यादवले फागुन २६ गते ठाडी भन्ने स्थानमा आफूलाई प्रेसरकुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएका छन्।
पटक पटक चेतावनी दिँदा पनि मालपोत कार्यालयमा विकृति नसुध्रिएको भन्दै बम पड्काएको उक्त समूहले जनाएको छ।
रामरिझन २०७४ चैत ९ गते विकास ज्वलर्समा भएको बम बिस्फोटमा जिल्ला अदालत सिरहाबाट १ लाख धरौटीमा छुटेका थिए। विराटनगर उपमहानगरपालिकामा २०७५ साउन ३१ गते भएको बम विस्फोटको मुद्दामा पनि ३५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए।
गिरी ५ वर्षदेखि उक्त समूहका कार्यरत रहेको र चन्दा असुलिमा समेत संलग्न रहेको पाइएको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए। गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १/१ र त्यसको गोलि २/२ थान बरामद गरेको छ।
याे हेर्नुहाेस् :
उपाध्यक्षले आत्मसमर्पण गरेकै दिन गोइत समूहद्वारा लहान मालपोतमा बम विस्फोट!
Shares

प्रतिक्रिया