समाज


उपाध्यक्षले आत्मसमर्पण गरेकै दिन गोइत समूहद्वारा लहान मालपोतमा बम विस्फोट!

उपाध्यक्षले आत्मसमर्पण गरेकै दिन गोइत समूहद्वारा लहान मालपोतमा बम विस्फोट!

नेपालखबर
चैत १, २०७७ आइतबार ११:५,

जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘गोइत’ समूहका उपाध्यक्षले आत्मसमर्पण गरेको केही समयमै सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।

आइतबार साढे १० बजेतिर जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का उपाध्यक्ष समेत रहेका रामविलास यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए।

तर त्यसको केही समयपछि नै मालपोत कार्यालयमा बम विस्फोट गराइएको हो। बम विस्फोट स्थलनजिकै गोइत समूहको पर्चा भटिएको र सोही समूहले विस्फोट गराएको प्रहरीले आशंका गरेको छ। घटनाको अहिलेसम्म जिम्मा भने उक्त समूहले लिइसकेको छैन।

विस्फोटमा परी ८ जना घाइते भएका छन्।

६३ वर्षीय यादवले आत्मसमर्पण गर्दै विज्ञप्ति जारी गरेका थिए।

उनले विज्ञप्तिमा लेखेका छन्–

म विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)मा रही विविध सशस्त्र आन्दोलनका गतिविधिमा संलग्न रही कामहरु गर्दै आइरहेकोमा त्यस्ता गतिविधिहरुप्रति असहमति जनाउँछु। मसम्बद्ध पार्टीले सामाजिक आर्थिक रुपमा पछाडि पारिएका शोषित पीडित, दलित, आदिवासी जनजातिहरुको मुक्ति तथा राज्यको मूल प्रवाहीकरणमा समावेश गर्ने उद्देश्य राखी संघर्ष गर्दै आएकोमा म र मेरा पार्टीबाट उक्त उद्देश्य प्राप्त गर्न लिएको नीति तथा क्रियाकलाप गलत भएको स्मरण गराउन चाहन्छु।

goit pr22

उनले यसअघि आफूबाट नेपालको संविधान, प्रचलित कानुन ऐनविपरीत गतिविधिहरु सञ्चालन हुँदै आएको भए पनि अब उप्रान्त संविधान तथा कानुनविपरीतका त्यस्ता गतिविधिहरु त्याग गरी शान्तिपूर्ण रुपमा राज्यले अंगीकार गरेको नीति तथा निर्देशन पालना गर्ने प्रतिबद्धता जनाएका थिए।

उनले यसअघि आफूविरुद्ध मुद्दा लागेको भएमा माफी दिन समेत आग्रह गरेका थिए।

दुई वर्षपहिले उक्त समूहका ११ नेताले १३ थान हतियार बुझाउँदै आत्मसमर्पण समेत गरेका थिए।

२०७५ मंसिरमा गोइत समूहमा रहेका १५ सदस्यीय समितिमध्ये ११ जनाले हतियार बुझाएका थिए।

सरकारी वार्ता टोलीसमक्ष अविनाश नेतृत्वको समूहले १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएको थियो।

लहानमा भएको वार्तामा ६ बुँदे सहमति भएको थियो। सहमतिसँगै उक्त समूह राजनीतिको मूलधारमा आउने भनिएको थियो।

अविनाशसहित प्रदिप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगतसिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो. सफिर, संजय भनिने देबेन्द्र खडगा, संजयकुमार यादव, शंकर भनिने संजयकुमार यादव, फुलबाबु भनिने फुलकुमार यादव सार्वजनिक भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad