आज (बिहीबार) महाशिवरात्रि पर्व, पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापनका लागि कतिपय स्थानमा सवारीसाधान सञ्चालनमा रोक तथा पार्किङ परिवर्तनलगायतको व्यवस्था गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ क्षेत्रवरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाइएको जनाएको छ।
महाशाखाका अनुसार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावत तथा विभिन्न नाका भई भित्रिने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाइएको छ।
धेरै टाढा टाढाबाट भक्तजन आउने हुनाले निजी तथा अन्य प्रकारका सवारीसाधनलाई निर्वाध आवतजावतको व्यवस्था तथा पार्किङ स्थानसमेत तोकिएको छ।
नियमित जस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भीडभाड अत्यधिक भई समस्या भएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण गाडी सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारीसाधन आवागमन निषेध गरी वैकल्पिक मार्गबाट जाने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
मालबाहक सवारीसाधन तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालबाहक गाडी चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
दर्शनार्थीरभक्तजनका सवारीसाधनलाई वनकाली खुला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाइएको छ।
यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरी र वनकाली भित्र राखिनेछ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरीपारि पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भीडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ। राससकाे सहयाेगमा

प्रतिक्रिया