दोलाखाको कालिन्चोक गाउँपालिका ६ लापिलाङमा गएराति एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्।
स्थानीय २७ वर्षीय हिमाल थामीले २२ वर्षीया श्रीमती सुनिता थामीलाई खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। पत्नीको हत्यापछि फरार रहेका थामी राति नै पक्राउ परेका कालिञ्चोक गाउँपालिका ६ का वडाध्यक्ष मानसिंह थामीले जानकारी दिए।
सुनिताको शरीरका विभिन्न ठाउँमा खुकुरीले काटेको चोट देखिएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए।
पत्नीको हत्यापछि फरार भएका थामीलाई प्रहरीले कालिञ्चोक गाउँपालिका ७ सिसागोलाईबाट पक्राउ गरेको छ। उनलाई सदरमुकाम चरिकोट लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। उनले पत्नीको हत्या गर्नुको कारण भने खुलिनसकेको डिएसपी रिजालले बताए।
स्थानीयबासीका अनुसार हिमालकी पहिलाकी पत्नीले आत्माहत्या गरेपछि उनले सुनितासँग दोस्रो विवाह गरेका थिए। घरायसी विवादको कारण उनले पत्नीको हत्या गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया