राजनीति


ओली गुटका मान्छे भएकै कारण राष्ट्रपतिले ३ ‘हत्यारा’लाई माफी दिएको भन्दै आपत्ति

ओली गुटका मान्छे भएकै कारण राष्ट्रपतिले ३ ‘हत्यारा’लाई माफी दिएको भन्दै आपत्ति

नेपालखबर
फागुन ८, २०७७ शनिबार २:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएकै कारण आफ्ना तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तीन कैदीलाई छुटकारा दिइएको आरोप लगाउँदै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आपत्ति जनाएको छ।

वि.सं. २०६८ पुसमा चितवन जिल्ला कारागारभित्रै पौडेलको हत्या गरिएको थियो। जसमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई बाँकी सजाय मिनाहा गर्दै हिजो (फागुन ७ गते)  रिहा गरिएको हो। 

ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सयभन्दा बढी जना (४०१ कैदी र १७९ बन्दी) लाई बाँकी कैद माफी मिनाहा गर्ने क्रममा उनीहरू पनि परेका हुन्। 

असल चालचलन भएका कैदीबन्दीलाई प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, दसैंजस्ता महत्वपूर्ण अवसरमा बाँकी सजाय माफी दिई कारागारमुक्त गर्ने प्रावधान छ।

नेपाल तरुण दलका तत्कालीन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न उल्लिखित तीनै जना (जसले बाँकी कैद माफी पाए) ओली समूहका समर्थक हुन्।

जसको विरोध गर्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेका हुन्।

जसमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी उनीहरूलाई आममाफी दिइएकोप्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ।’

अगाडि भनिएको छ, ‘जेलभित्रै हत्याजस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आममाफी दिनु देशमा हत्या, हिंसाजस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवाञ्छित क्रियाकलापलाई प्रोत्साहित गर्ने कार्य दिनप्रतिदिन बढ्दै गइरहेको प्रस्ट भएको छ।’

यसको विरोधमा संघर्ष नै गर्ने चेतावनी पनि तरुण दलले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad