कैलालीको लम्की-चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन्।
प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन्। नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडीले दैनिक घरबाटै ओहरदोहर गर्दै आएका छन्। पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा पुगेका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० किलोमिटर यात्रा गरिरहेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्याय केही बोल्न चाहेनन्। ‘इन्धनमा नगरपालिकाको मासिक दुई लाखसम्म खर्च हुन्छ,’ उनले भने, ‘आवास छ, सम्झौता भएकोजस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ। घरायसी समस्याले ओहरदोहर गर्नुभएको हो।’
प्रशासकीय अधिकृतले दैनिक यसरी ओहरदोहर गर्दा सेवासमेत प्रभावित भएको स्थानीयवासीको भनाइ छ। ‘यसरी प्रभावकारी सेवा दिनुहुन्छ जस्तो लाग्दैन,’ स्थानीयवासी ललित जैशीले भने, ‘स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई खाने, बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने प्रावधान छ जस्तो लाग्छ । त्यति लामो दूरी टाढा बस्दा इन्धनदेखि लिएर अन्य खर्च हुन्छ, उहाँले भुक्तानी कसरी बुझ्नुहुन्छ हामीले थाहा पाउने कुरा भएन।’
जैशीले नगरपालिका प्रभावकारीरूपमा चलेको जस्तो नलागेको बताए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाडीले आवास तयार हुँदै गरेको बताए। उनले आफू कार्यालयमा समयमै उपस्थित हुने गरेको दाबी गरे। ‘मैले कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, ५ नबजी निस्केको पनि छैन,’ बिनाडीले भने, ‘मैले एक दिन पनि बिदा लिएको र्छन।’
उता नगरप्रमुख महादेव बजगाईँले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताए। ‘आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ। उहाँले श्रीमती बिरामी भएर ओहोरदोहोर गर्नुपरेको बताउनु भएको छ।’
प्रमुख प्रशासकीय अधिकृत बिनाडीले लिने गरेको इन्धनको विषयमा यसअघि लम्की–चुहा नगरपालिकामा बिवाद भएको थियो। इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा (एमाले) ले विरोध गरेको थियो । राजनीतिक संयन्त्रले विरोध गरेपछि उनी अन्यत्र सरुवा भएर गएका हुन्।
पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ । स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन्। रासस

प्रतिक्रिया