चार जिल्लाका ३३ जनालाई ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले ठगीमा संलग्न पर्वतको मोदी गाउँपालिका–७ का ३८ वर्षीय धिरजकुमार विश्वकर्मालाई पक्राउ गरेको हो।
पोखरा महानगरपालिका ३० शिवासु बस्ने विश्वकर्मालाई रामबजारबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।
उनले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानाडा, अमेरिकालगायतका देशहरुमा धेरै मानिसहरुलाई रोजगारको लागि पठाइसकेको बताउँदै अरुलाई पनि विश्वास दिलाउने गरेका थिए।
विश्वकर्माले ठगेका पीडित कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका ३३ जना रहेको एसपी श्रेष्ठले बताए।
उनीहरुलाई क्यानडा पठाइदिन्छु भनि ९० लाख ७१ हजार ५ सय रुपैयाँ ठगी गरेको उजुरी परेको कास्की प्रहरीले जनाएको छ।
पीडितलाई विश्वासमा पार्नका लागि बिभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेक समेत दिएको पाइएको छ। उनलाई ठगीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए।

प्रतिक्रिया