बन्चरो प्रहार गरि पत्नीको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ।
श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले माघ १३ गते पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार भुजेलले माघ ९ गते राति श्रीमती रमामाया घलान (बजु)लाई टाउकोमा बञ्चरोको पासोले प्रहर गरेका थिए। बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी रमामायालाई सुरुमा चुरे हिल अस्पताल हेटौँडा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा माघ १० गते उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए।
घटनालगत्तै फरार रहेका शेरबहादुरलाई काभ्रेको बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शेरबहादुरलाई सिन्धुली जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया