न्यून आय भएका देशहरुलाई कोरोना खोप उपलब्ध गराउन स्थापना गरिएको कोभ्याक्सले सन् २०२१ भित्रमा २ अर्ब डोज खोप उपलब्ध हुने सुनिश्चित भएको जनाएको छ।
नेपालले पनि २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी कोभ्याक्सबाट खोप ल्याउनका लागि सम्झौता गरेको छ।
कोभ्याक्सले भ्याक्सिन उत्पादक कम्पनी फाइजरसँग ४ करोड डोज भ्याक्सिन खरिदका लागि सम्झौता गरेको जनाएको छ।
फाइजरले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट आपतकालीन प्रयोगका लागि अनुमति पाई प्रयोग समेत गर्न सुरु गरेका छन्।
त्यसैगरी सिरम इन्स्टिच्युट अफ इन्डियासँग भएको सहमतिअनुसार त्यहाँबाट १० करोड डोज भ्याक्सिन पाउने कोभ्याक्सले जनाएको छ। उसका अनुसार त्यसमध्ये सिरमबाट ५ करोड डोज भ्याक्सिन अप्रिलसम्म प्राप्त हुनेछ।
सिरमले अक्सफोर्डले विकास गरेको खोप उत्पादन गर्नेगर्छ। भारत सरकारले नेपालमा गतसाता १० लाख डोज खोप अनुदान प्रदान गरिसकेको छ।
डब्लूएचओमा यो भ्याक्सिन आपतकालीन प्रयोगको अनुमतिको प्रतिक्षामा रहेको छ। फेब्रुअरीको मध्यसम्ममा अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सिरमको खोपलाई भारत सरकारले भने आपतकालीन प्रयोगको अनुमति दिएको छ। भारतमा माघ ३ गतेबाट सो खोप लगाउन सुरु गरिएको हो। नेपालमा पनि बुधबारबाट यही खोप लगाउन सुरु गरिने छ।
Shares

प्रतिक्रिया