काठमाडौँको बालाजुमा एक युवाको छुरा प्रहार गरी हत्या गरेर फरार भएका भारतीय युवालाई प्रहरीले फर्फिङबाट पक्राउ गरेको छ।
मंगलबार राति भारत मोतीहारी घर भइ हाल बालाजु वाइपासमा बस्दै आएका २५ वर्षीय सुबोध शर्माले सोही स्थानमा बस्दै आएका भारत मोतीहारीकै अर्का २५ वर्षीय युवा कलाम मियाँमाथि छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएका मियाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंलगबार राति नै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।
‘पुरानो रिसिइबीका कारण छुरा प्रहार भएको देखिन्छ’, डीएसपी विष्टले नेपालखबरसँग भने, ‘उनीहरुबीच पहिल्यैदेखि राम्रो सम्बन्ध नरहेको पाइएको छ।’
दुवै युवा सोही क्षेत्रमा केही समयदेखि सिलाइ कटाइको काम गर्दै आएको र मंगलबार पुरानो रिसिइबीलाई लिएर झगडा भएको उनले बताए।
छुरा प्रहारपछि ७५६२ नम्बरको सुमो गाडीमा भाग्दै गरेका सुवोधलाई प्रहरीले फर्पिङ चेकपोस्टबाट बुधबार बिहान पक्राउ गरेको डीएसपी विष्टले जानकारी दिए। उनले सुवोधलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको बताए।
Shares

प्रतिक्रिया