समाज


सुरु भयो हिमपात र वर्षा, बुधबारसम्म जारी रहने भएकाले सतर्क रहन सुझाव

सुरु भयो हिमपात र वर्षा, बुधबारसम्म जारी रहने भएकाले सतर्क रहन सुझाव

नेपालखबर
पुस २०, २०७७ सोमबार ०:५०,

पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भएको र यो क्रम बुधबारसम्म जारी रहने भएकाले आम नागरिकलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिमी क्षेत्रतिर हिमपात तथा वर्षा सुरु भइसकेको छ भने आज काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।

‘यो क्रम बुधबारसम्म जारी रहने देखिन्छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भने, ‘आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।’

महाशाखाले आज साेमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन हुन तथा बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।

केही दिनसम्म हिमपात र वर्षाकाे सम्भावनाबारे मौसम पूर्वानुमान महाशाखाले हिजै (आइतबार) विशेष मौसम बुलेटिन जारी गरेर जानकारी गराइसकेको छ। हेर्नुहाेस् :

maubii

महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म यस्ताे छ वर्षा र हिमपातकाे सम्भावना : 

पुस २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

पुस २२ गते (बुधबार)

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad