उनी ५० वर्षकी भइन्। गाउँमा मेघपुरवाली भनेर चिन्छन्। योभन्दा बढी चिन्नु चिनाउनुपर्यो भने सिरिठ सदाकी घरवाली भनेर परिचय दिइन्छ। कतिपयले रामलोचनकी आमा भनेर पनि चिन्छन्।
महोत्तरीको मधवा गाउँकी मेघपुरवालीलाई आमाबुवाले राखिदिएको नाम हो, सरिता सदा। भारतको विहार राज्यको मधुवनी जिल्ला मेघपुर गाउँ उनको माइत हो। १२ वर्षकै उमेरमा बिहे गरी मधवा आइन्। बिहेपछि उनको नाम फेरियो र उनी भइन्, मेघपुरवाली। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट मनिका झाले लेखेकी छन्।
भोटका बेला, जग्गाजमिन बेच्नुपर्दा वा राहत बाँड्न कोही गाउँ आएका बेला मात्रै मेघपुरवालीको खास नाम सोधिन्छ। अरू बेला त गाउँ, पति वा छोराको नामै उनको पहिचान हो।
तपाईंको नाम के हो? यसरी सोध्दा करिब ४५ वर्षीय बिसनपुरवाली लजाइन्। उल्टै उनले प्रश्न गरिन्, ‘नाम सोधेर के गर्नुहुन्छ?’
तब जवाफ दिइन्, ‘नाम त कुनै काम हो भने मात्रै भन्ने हो। अरू बेला त गगनदेवकी स्वास्नी वा बिसनपुरवालीबाटै चिनिने हो।’
उनको नाम पुनिता झा रहेछ। तर, यो नाम बाहिर त के घरपरिवारमा पनि अधिकांशलाई थाहा छैन। यस्तै, जनकपुर माइत भएकी कुम्दिनी झाको बिहेपछि नामै जनकपुरवाली भयो। उनका नातिनातिनीलाई हजुरआमाको नाम के हो भनेर सोध्दा कसैलाई थाहा छैन। हजुरबुवाको नाम भने सबैलाई थाहा छ।
६० वर्षीया मरनीदेवी साहको नाम १९ वर्षअघिसम्म गाउँमा धेरैलाई थाहा थिएन। जलेश्वर माइत भएकाले सिमरदहीमा उनको नाम जलेश्वरवाली भयो। तर, बोक्सी आरोपमा उनीमाथि निर्घात कुटपिट भएपछि जब मुद्दा प्रहरी–प्रशासनमा पुग्यो तब मरनीदेवी भनेर उनको नाम थाहा भयो।
‘महिलाहरूको कहाँ आफ्नो नाम हुन्छ’, जनकपुरमा आयोजित एक कार्यक्रममा भेटिएकी मरनीदेवीले भनिन्, ‘कि त कुनै काण्डमा बदनामी भयो भने सबैले महिलाको नाम थाहा पाउँछन्। होइन भने ठूलै पद पायो भने। नत्र त फल्नाको घरवाली फल्नाको आमा नै हाम्रो नाम हो।’
समाजमा पुरुषको हावी भएकाले महिला बेनाम भएको साहित्यकार तथा पत्रकार रामभरोष कापडी बताउँछन्। कापडीका अनुसार मैथिली संस्कार र संस्कृतिमा सामान्यतः महिलालाई नाम राखेर बोलाउने परम्परासमेत हुँदैन।

प्रतिक्रिया