ad ad

समाज


बेलायतमा देखिएको ‘अझ घातक’ नयाँ कोरोना कस्तो हो? यहाँ आइहाल्यो भने कसरी बच्ने?

बेलायतमा देखिएको ‘अझ घातक’ नयाँ कोरोना कस्तो हो? यहाँ आइहाल्यो भने कसरी बच्ने?

डा. रवीन्द्र पाण्डे
पुस १०, २०७७ शुक्रबार ४:१९,

बेलायतको दक्षिणपूर्वी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखापरेको छ। यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ।

हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० प्रतिशतभन्दा बढी देखिएको बेलायती वैज्ञानिकहरूले बताएका छन्। यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने विषय अध्ययन गर्न बाँकी छ।

म्युटेसन भएर आएको यो प्रजातिको स्पाइक प्रोटिन, जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्‍याउने काम गर्छ। पहिलेको भन्दा फरक भएको जनाइएको छ। यो फरक प्रजातिमा हाल विकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ।

कोरोना भाइरस यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संशोधन गर्दै प्रत्येक वर्ष लगाइरहनुपर्ने हुन सक्छ। त्यस्तै नयाँ प्रजाति फैलियो भने पहिले संक्रमण भएर निको भएका व्यक्तिको एन्टिबडीले काम नगर्न सक्छ।

अहिले बेलायतसँग संसारले नै हवाइ सम्पर्क विच्छेद गरेको छ भने सिमाना जोडिएको फ्रान्सले ४८ घन्टाका लागि आवतजावत बन्द गरेको छ। यसले गर्दा खाद्यान्न तथा औषधि बोकेका हजारौं लरी सडकमा फसेका छन्।

डब्लूएचओलगायत अन्तराष्ट्रिय संघ/संस्थाले यो प्रजातिको कोरोना भाइरसको अध्ययन सुरु गरेका छन्। केही दिनमै यो प्रजातिका धेरै विवरण आउने अपेक्षा गर्न सकिन्छ।

यो महामारीबाट बच्ने प्रमुख उपाय नै जनस्वास्थ्यका मापदण्डलाई जीवनशैली बनाउनु हो। सही तरिकाले अनिवार्य रूपमा मास्क लगाउने, २ मिटरको दूरी कायम गर्ने, भीडभाड नगर्ने, भेन्टिलेसन कायम गर्ने तथा हातको सफाइ र अनुशाशन कायम गर्ने हो भने परिवर्तित प्रजातिबाट पनि बच्न सकिन्छ।

त्यस्तै महामारीको समयमा सामना गर्नुपर्ने कठिन परिस्थितिमा आत्मबल तथा मानसिक शक्ति प्रबल बनाउन जरुरी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .