ad ad

विचार


के प्रचण्ड अझै बाँकी छन्?

के प्रचण्ड अझै बाँकी छन्?

सङ्गीत
पुस १०, २०७७ शुक्रबार ४:२७,

राम कार्की अर्थात् कमरेड पार्थको चार वर्ष पुरानो एउटा भनाइबाट विषयको दैलो उघार्ने मेसो गर्दैछु। कति औपचारिक जमघटहरूमा र कति अनौपचारिक मन्थनहरूमा तत्कालीन माओवादी पार्टीको हालतबारे राम कार्की निष्कर्ष सुनाइरहन्थे– ‘माओवादीसँग अब केही छैन, केही पनि छैन! केवल प्रचण्ड मात्रै छन्!’

आफ्नो निष्कर्षको व्याख्यामा उनी थप्थे– ‘हामीसँग सेना छैन, हामीसँग संगठन छैन, हामीसँग विचार छैन, हामीसँग कार्यदिशा छैन। छ केवल एउटै सम्पत्ति अर्थात् प्रचण्ड! आफूसँग भएको सम्पत्ति होसियारीपूर्वक र किफायती ढंगले खर्च गरिएन भने हामीसँग यही सम्पत्ति पनि बाँकी रहँदैन।’

जतिबेला माओवादी केन्द्र नामको अव्यवस्थित, भद्दा र भारीभरकम कमिटी (चार हजार त केन्द्रीय सदस्य मात्रै) भएको पार्टी थियो र कमिटी प्रणालीले कतै पनि काम गर्दैनथ्यो, कमरेड पार्थको यस्तो निष्कर्ष तिनताकाकै हो। त्यो पार्टी टुटफुट–विभाजन र राजनीतिक विचलनबाट कमजोर बनेको, अवसरवाद र भ्रष्टाचरणको दुर्गन्ध लतपतिएको, वैचारिक प्रतिगमनबाट थलिएको र काठमाडौं–संस्थापनबाट सातो लिइएको युद्धोपरान्त पराजित समूह जस्तो हालतमा थियो। आफ्नो दस्तावेजमै त्यतिखेर प्रचण्डले लेखेका थिए, ‘क्यान्सरझैं फैलिरहेको गुटबन्दी, अराजकता, व्यक्तिवादजस्ता गैरसर्वहारा आचरण र कार्यशैली हटाउन आज पार्टीमा ठूलो शल्यक्रियाको खाँचो छ (०७२, पुस ७ केन्द्रीय समिति)।’

त्यस्तो शल्यक्रिया थाल्ने भनी माओवादीले वैचारिक स्कुलिङ र प्रकाशनजस्ता कामलाई प्राथमिकता दिने टुंगो पनि गरेको थियो। तर, पुनर्गठन, पुनःनिर्माण र शुद्धिकरणका सम्पूर्ण कार्यसूची मिल्काएर प्रचण्डले खड्गप्रसाद ओलीसँग सत्ता–साझेदारीका लागि पार्टी एकता गर्ने एक्लो निर्णय गरे। निर्णयको पहिलो परिणाम अहिले प्रचण्डले मात्रै होइन, सम्पूर्ण देशले भोगिरहेको छ।

स्वीकार्न धेरैलाई कठिन लाग्छ, तर यथार्थमा माओवादी विद्रोहले पहिलो संविधानसभा असफल भएसँगै सहादतको हालत बेहोरिसकेको थियो। नेताहरू त जीवितै थिए, संगठनका संरचनाहरू त चल्दै थिए, स्वार्थका दाउपेचहरू पनि चलमलाइरहेका थिए। तर, क्रान्तिको नाडी चल्न छाडिसकेको थियो, विद्रोहको ढुकढुकी बन्द भइसकेको थियो। माओवादी आन्दोलनमा बिमार अलिअलि आफैभित्र थियो, अलिबढी विरोधी शक्तिको आक्रमणले नै घाइते बनाएको थियो। दोस्रो संविधानसभा नामको भेन्टिलेटर उसको प्राण धानेको देखाउने कृत्रिम परिपञ्च मात्रै थियो। हत्या भइसकेको त्यस क्रान्तिको पोस्टमार्टम हुन पाएन, अझै भएको छैन।

कम्युनिस्ट आन्दोलनका अनेक धाराहरू र तिनका क्रान्तिकारी विशेषज्ञ डाक्टरहरू माओवादी आन्दोलनको पोस्टमार्टमतिर लागेनन्, बरु त्यसले आर्जेको शक्ति र सम्पत्ति हत्याउने होडमा मिसिए। जसरी एउटा सामन्तको अवसानपछि जीवनभरि वैरी बनेका सन्तानहरू पनि जिउनी खोज्न, अंश दाबी गर्न र उत्तराधिकार लिन अघि सर्छन्, माओवादी आन्दोलन खसेपछि पनि त्यस्तै भयो। त्यसको जीवनकालभरि सधैं आलोचक रहेका, विरोधी बनेका र दुश्मनी साँधेका सबै–सबै उसले आर्जेको शक्तिबाट आफ्नो स्वार्थको रोटी सेकाउन अघि सरे। यसको उदाहरण राजनीतिमा मात्रै होइन, व्यापार–व्यवसाय, सञ्चार, कला–साहित्य जगत् सबैतिर पर्याप्त देखिन्छ। सबैभन्दा दिगमिगलाग्दो उदाहरण त अहिलेको ओली–प्रवृत्ति नै हो। जसले आफू सत्तामा पुग्न माओवादीकै भरेङ चढ्यो, अहिले भरेङसँगै आफ्ना पूर्वसहकर्मीहरूसमेतलाई पनि भुइँमा मिल्काइदियो।

राजनीति नै त्यस्तो प्रक्रिया हो, जहाँ आन्दोलन र विद्रोहको हत्या भइसकेपछि पनि विचारले अर्को ब्याडमा आकार लिन सक्छ। नवनिर्माणको प्रक्रिया यसरी नै सुरु हुने हो। हरेक नवनिर्माणलाई नवनेतृत्वको खाँचो पर्छ। अहिले छटपट–छटपट गरिरहेको युवा पुस्ता र निकास खोजिरहेको वर्तमानले नवनिर्माणको स्पेस खोजिरहेको छ। र, प्रचण्डलाई नै ‘अन्तिम सत्य’ मानेर हिँडेका र आजको ज्वलन्त घडीमा पनि मौनधारण गरिरहेका युवाहरूलाई भने समयले अन्तिम प्रश्न गरिरहेको छ। बुढ्यौलीतिर ढल्कँदै गरेका राम कार्की ‘पार्थ’हरू र अझै जवान ज्यान भएका दर्जनौं युवा नेताहरू प्रचण्डकै वरिपरि छन्। जनयुद्धको आरनबाट वैचारिक पाइन लगाएर फर्केको युवा पुस्ता आफू अग्रपंक्तिमा सक्रिय छैन, सक्रियताको सम्पूर्ण जिम्मा प्रचण्डकै काँधमा सुम्पेर चुपचाप छ। तर, प्रतिप्रश्न यही छ– जहाँ संगठन छैन, जहाँ विचार छैन, जहाँ कार्यदिशा छैन, त्यहाँ प्रचण्ड मात्रै अब कति बाँकी छन्?

कुनै बेला प्रचण्ड अवश्य थिए। समकालीन इतिहासमा चासो हुनेलाई थाहै छ– १० वर्षअघिसम्म प्रचण्ड नामको ‘चकचकी’ काठमाडौंमा कस्तो थियो! २० वर्षअघिका प्रचण्डको ‘जगजगी’ पनि दुनियाँले देखेकै र भोगेकै हो। जब कुनै व्यक्तिमा हजारौं व्यक्तिहरूको क्षमता, शक्ति, सिर्जनशीलता र सक्रियता संरचनागत रूपमै संस्थागत र संकेन्द्रण हुन्छ, तब बाँकी हजारौं मानिस पनि त्यो एउटै व्यक्तिमा शक्तिको भण्डारण भएको विश्वास गर्न पुग्छन्। अनि, संरचनागत निर्मिति र व्यक्तिको भूमिकासम्बन्धी द्वन्द्वात्मक नियमहरूतिर ख्याल गर्नुको साटो व्यक्तिकै भूमिकालाई सर्वोपरी मान्ने मनोविज्ञानका बन्दी हुन पुग्छन्। व्यक्तिको व्यक्तित्व कसरी निर्माण हुन्छ, कसरी विनिर्माण वा पुनःनिर्माण हुन्छ, त्यसका सामाजिक–राजनीतिक नियमहरू भेउ नपाउँदा मानिसहरू अन्धविश्वासको शरण पर्छन्। कति हदसम्म प्रचण्डकै सन्दर्भमा पनि यस्तै भएको थियो।

प्रचण्ड नामको व्यक्तित्व निर्माणार्थ युद्धकाल (२०५२–२०६२) मा ब्याड बनाउन, त्यसको बिउ रोप्न, गोडमेल गर्न, सिँचाइ गर्न, किसिम–किसिमका जैविक र रसायनिक मलहरू थपिरहन दर्जनौं मालीहरू प्रतिबद्ध थिए। धेरैलाई थाहा भएकै कुरा हो– आफ्नो अलग्गै व्यक्तित्व भएका मोहन वैद्य र बाबुराम भट्टराईले पनि आफ्नो जीवनकालको दुई दशकभन्दा बढी समय यही व्यक्तित्व (वा नेतृत्व) लाई आकार र उकेरा दिँदै बौद्धिक विमर्श गरेका थिए। त्यसबेला माओवादी र प्रचण्ड भन्नु नै क्रान्ति शब्दका दुई पर्यायवाची अर्थजस्ता लाग्थे। त्यो अर्थ युद्धले मात्रै बनाएको अर्थ पक्कै थिएन; त्यो अन्धविश्वास मात्रै पनि थिएन; त्यो त जनताको आशा, सपना, समर्पण र बलिदानको मूल्यले आर्जेको अर्थ थियो। जनयुद्ध जति शक्तिशाली र भयशाली थियो, जनआन्दोलनपछिको जनसाथ त्योभन्दा शक्तिशाली थियो। र, त्यो जनसाथ कुनै एक व्यक्तिको अतृप्त सत्तास्वार्थको तुष्टिका लागि चाहिँ पटक्कै थिएन। त्यसैलाई सही ढंगले बुझ्न सकेको भए र निजीहितका ठाउँमा आन्दोलनहित, जनहित र क्रान्तिहितलाई केन्द्रमा राखेको भए संविधानसभा नाममै प्रतिगमन हुने परिवेश बन्न सक्दैनथ्यो। सच्चा नेतृत्वको परीक्षा पनि यस्तै घडीले लिन्छ। प्रचण्डको परीक्षा युद्धले पनि लियो, जुन उत्तिर्ण गर्न उनीसँग मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेताको टिम थियो। युद्धपछिको परीक्षामा जब क्रमशः तिनै नेताहरू प्रचण्डसँग छुट्दै गए, उनको व्यक्तित्व खाँबो भाँचिएको, आँगन भत्केको र धुरी खसेको घरजस्तो हुँदै गयो। राम कार्कीले भनेजस्तो सेनाविहीन, विचारविहीन र संगठनविहीन त छँदै थियो।

जगजाहेरै छ, केपी ओलीको दुई दशकयताको राजनीति गणतन्त्रको विरोध, अन्धराष्ट्रवाद, उत्पीडित समुदायप्रति द्वेष, संघीयता र समावेशी सिद्धान्तको निषेधको जगमा निर्माण भएको हो। उनी पछिल्ला परिवर्तनका कति कट्टर विरोधी हुन् भन्ने उनका दुच्छर अभिव्यक्तिहरूबाटै थाहा हुन्छ। तर, तिनै ओलीलाई सत्ता साझेदार मात्रै होइन, नेता र औपचारिक अगुवा मानेर ‘समाजवादको सपना’ देखेको प्रचण्डले नै हो। त्यो पनि पार्टीभित्र वा नेताहरूबीच कहिल्यै पनि र कुनै पनि तहमा छलफल–परामर्शै नगरी माओवादी र एमालेबीच एकता गर्ने निर्णयका मुख्य अंशियार प्रचण्डै हुन्। संसदीय झेलहरूको खेलाडी बन्न तयार भइसकेका प्रचण्डलाई ‘झेली नियम’ पनि मिचेर ओलीले यतिखेर पाखा पारिदिएका मात्रै हुन्। संसद् विघटन र नेकपा (नेकपा) विभाजनको पछिल्लो परिघटनामा सबैभन्दा मूल कारक यो संसदीय व्यवस्था हो भने त्यसका एकजना हर्ताकर्ता प्रचण्ड पनि हुन्।

अहिले प्रगतिवादी कवि–लेखक र युवा बौद्धिकहरूको एक हुल फेरि प्रचण्डतिर फर्केर आशावादी नजरले उनको क्रान्तिकारी रुपान्तरण वा अवतारको प्रतीक्षा गरिरहेका देखिन्छन्। प्रचण्डको पुनःनिर्माण त अब सम्भव छैन नै, संसदीय व्यवस्थाकै दलदलमा संस्कारित भइसकेकाले उनकै पदचाप पछ्याइरहेको दोस्रो पुस्ता पनि बढीमा प्रचण्डको फोटोकपी मात्रै हुन सक्ने देखिन्छ। उही कामका लागि फोटोकपीभन्दा मूलकपीकै प्रयोजन सजिलो हुने भएकाले प्रचण्ड रहुन्जेल उनकै पछिपछि हिँड्ने दोस्रो पुस्ताको भूमिका र भविष्य त्यहाँ देखिन्न। आफ्नै साख जोगाउन हम्मेतम्मे परिरहेको बखतमा दोस्रो पिँढीबाट शिर उठाउन खोजिरहेको पंक्तिको बर्कत पनि अब प्रचण्डको पुनःनिर्माणमा केन्द्रित हुने छाँट छैन।

एकीकृत माओवादी हुँदाका बखत (माथि सन्दर्भित दस्तावेजमा) प्रचण्डले ‘पार्टीमा कम्युनिस्ट आचरण र संगठनात्मक पद्धतिमा विस्मयकारी विचलनहरू देखा परिरहेको’ पटक–पटक उल्लेख गरेका छन्। त्यसलाई उनले ‘निम्न पुँजीवादी र पुँजीवादी विचलनहरू’ भनेका छन्। र, पार्टी पुननिर्माण गर्नका लागि ‘सर्वहारा विश्वदृष्टिकोणका आधारमा निर्मम र लामो वैचारिक संघर्ष एवम् वर्गसंघर्षको व्यवहारका बीचबाट गुज्रेर मात्र’ सम्भव हुने पनि उनको निष्कर्ष थियो। आफैले स्वीकारेका विस्मयकारी विचलनहरू बोकेको पार्टी विस्मयकारी छलाङ मारेर एमालेधारमा यसरी हेलियो, त्यो घटना थाहा पाउँदा २०औं वर्षसम्म क्रान्तिकारी आन्दोलनको स्वप्न र चमत्कारी नेतृत्वप्रतिको विश्वासमा प्रतिबद्ध रहेका हजारौं नेता–कार्यकर्ता आफै चित् खाएका थिए। खासमा त्यो घटना, दुर्घटना वा परिघटना मात्रै थिएन, त्यो त इतिहासको एउटा दर्दनाक महाघटना थियो। त्यही महाघटनाले कम्युनिस्ट क्रान्तिकारीहरूको लामो यात्राको जोर्नीमा पारेको नीलडाम अहिले नेकपा डबलको विभाजनसँगै पहिलोपटक उकल्चिएको छ, भावी दिनमा त्यो पटकपटक उकल्चिने (बल्झिने) र दुखिरहने छ। जुन बैठकलाई प्रचण्डले ‘क्यान्सर हटाउन’ पार्टी पुनःनिर्माणको ‘अन्तिम अवसर’ भनेका थिए, पार्टीमा लागेको त्यो ‘क्यान्सर’को उपचारै नगरी उनी एमाले–दहमा हाम्फाल्न पुगे।

आज पनि प्रचण्ड हरेक महिनाजसो वैचारिक शुद्धिकरण र पार्टी पुनःनिर्माणको कसम खान्छन्। तर, यतिबेला पार्टी पुनःनिर्माणको कसम खाँदाखाँदै प्रचण्ड आफै पुनःनिर्माण हुन नसक्ने भग्नावशेषजस्तो हालतमा पुगेका छन्। उनलाई टेको दिन मात्रै पनि अर्को क्रान्तिको खाँचो पर्ने देखिन्छ। त्यस्तो क्रान्ति उनकै जीवनकालमा आउला–नआउला भन्न सकिन्नँ तर आएछ नै भने पनि त्यो क्रान्तिले नेतृत्वको नवनिर्माण गर्नेछ, पुनःनिर्माण होइन। प्रचण्डको महत्व विद्यमान मूलधारको राजनीतिमा अहिले पनि अनिवार्य ‘टेक्स्टबुक’ सरह छ तर समाजलाई यथास्थितिबाट निकालेर नयाँ वैकल्पिक गति दिने हो भने युवाहरूले आफै नेतृत्व लिन अघि सर्नुको विकल्प छैन।

प्रचण्ड वा प्रचण्डहरू नेपाली क्रान्तिको इतिहासमा ‘रिफरेन्स बुक’हरू हुँदै हुन्, नवअध्येताहरूले तिनलाई पटक–पटक अथ्र्याउँदै जानेछन्। अझै पनि प्रचण्डबाट अन्तिम आशा गरिरहेको पंक्ति ठूलो छ, त्यो पंक्तिसँग संवाद र सवाल भने गर्नै पर्नेछ। र, कमरेड पार्थहरूलाई एकलट सोध्नु पनि पर्नेछ– ‘तपाईंहरूसँग एक मात्रै सम्पत्ति थिए, प्रचण्ड! स्टक जोगाइरहनुभएको छ कि? ती बेचिइसके कि? साटिइसके कि? कसैले खोसिसक्यो वा लुटिसक्यो कि? कमरेड पार्थ, ती प्रचण्ड के अझै पनि बाँकी छन्?’

(सङ्गीत पत्रकार/लेखक हुन्। ट्विटर: @SangeetSrota)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .