विश्वको जनसंख्याको करिब २० प्रतिशत हिस्साले सन् २०२२ को सुरुसम्म कोरोनाविरुद्धको खोप नपाउने अवस्था देखिएको एक अध्ययनले जनाएको छ।
जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थले गरेको सो अध्ययनअनुसार सन् २०२१ को मध्यसम्ममा उत्पादन हुने खोपमध्ये आधाभन्दा धेरै खोप धनी मुलुकले ओगटिसकेका छन्।
‘सबै निर्माताको खोप प्रभावकारी र सुरक्षित भएर उनीहरुले लक्ष्यअनुसार नै उत्पादन गर्न सफल भएपनि कम्तीमा २० प्रतिशत जनसंख्याले सन् २०२२ सम्म खोप पाउने छैन,’ अध्ययनमा भनिएको छ।
अमेरिका, बेलायत, यूएईलगायतका मुलुकले खोप लगाउन थालिसकेका छन्। सम्पन्न मुलुकहरुले अनेकौँ खोप निर्माताको खोप बुकिङ गरेका छन्।
विश्वको समग्र जनसंख्याको मात्र १४ प्रतिशत हिस्सा सम्पन्न मुलुकमा बसोबास गर्छ। तर, १३ खोप निर्माताले अर्को वर्षसम्म बनाउने खोपको धेरैजसो हिस्सा यिनै मुलुकले ओगटिसकेका छन्। त्यसैले सबैभन्दा गरिब मुलुकका जनताले खोप नपाउने जोखिम बढ्दै गएको छ।
गएको नोभेम्बरसम्ममा नै ७.४८ अर्ब डोज खोप रिजर्भ भइसकेको छ। लगभग सबै खोप दुई डोज लगाउनुपर्ने हुनाले करिब पौने चार अर्ब मानिसलाई लगाइने खोप रिजर्भ भइसकेको छ।
तर, २०२१ को अन्त्यसम्ममा ५.९६ अर्बलाई लगाउन पुग्ने मात्रै खोप उत्पादन हुनेछ।
Shares

प्रतिक्रिया