बुधबारको स्थायी समिति बैठकअघिको अन्यौलपूर्ण अवस्थाबीच नेकपाका अध्यक्षद्वयले नेतृत्वका दुई पक्षबीच तीन–बुँदे सहमति गरी बैठक सुचारु गरियो।
अध्यादेश फिर्ता, संसदको विशेष अधिवेशन आह्वान र संवैधानिक अंगमा नियुक्तिबारे पार्टीका दुई पक्षबीच सहमति जुटेपनि यसअघि दुई अध्यक्षले पार्टी बैठकमा पेस गरेका प्रस्तावबारे भने दुवै अध्यक्ष आआफ्ना अडानमा कायम रहेका छन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुन नसक्ने अडान बुधबारको स्थायी समिति बैठकमा पनि दोहो¥याए।
तर प्रचण्डले भने बैठकमा प्रस्तुत भएका प्रस्तावमाथि छलफल हुनुपर्ने र त्यत्तिकै फिर्ता हुन नसक्ने आफ्ना धारणा सो बैठकमा राखे।
जसले गर्दा ती प्रस्तावबारे पार्टीका दुई अध्यक्षले नेतृत्व गरेका पक्षहरुबीच कसरी समझदारी बन्छ भन्ने कुरा अझैपनि अन्यौल नै रहेको एक स्थायी समिति सदस्यले भने।
यसैबीच बुधबारको स्थायी समिति बैठक पुस ५ गते बस्ने तय भएको छ।
पुस ५ गतेको लागि तय भएको केन्द्रीय समितिको बैठक पुस १० गते बस्नेगरी सार्ने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीले मंसिर ३० गते ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए।
उनले बैठकपछि पत्रकारसँग कुरा गर्दै भने, ‘आजको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ल्याएको अध्यादेश फिर्ता गर्ने बताउनुभएको छ, यस्तै तत्काल संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको हस्ताक्षर समेत फिर्ता लिने निर्णय भएको छ।’
‘अब स्थायी समितिको बैठक पुस ५ गते बस्ने र सोहि दिनका लागि निर्धारण गरिएको केन्द्रीय समितिको बैठक पुस १० गते बस्नेगरी आजको बैठक सकिएको छ,’ प्रवक्ता श्रेष्ठले थपे।
Shares

प्रतिक्रिया