दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ।
सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ। यसअघि कोरियामा कोरोना नियन्त्रणमा आइसकेको थियो।
शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए ।
कोरियाको रोग नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ।
विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन्।
महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उहाँले जानकारी दिए।
रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ। सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ।
रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ। रासस

प्रतिक्रिया