‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साहले अद्भूत सीप देखाउँदै आफूलाई प्रतियोगिताको फाइनल राउन्डमा प्रवेश गराएर नेपाली खाना र नेपाल नामलाई विश्वसामु परिचित गराएका छन्।
बीबीसीमा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डको प्रतिस्स्पर्धाबाट अघि बढ्दै उनी शीर्ष ६ को फाइनल राउन्ड पुगेका हुन्। प्रतियोगितामा सहभागी कुल ३२ व्यवसायिक सेफहरुमध्ये शीर्ष स्थानसम्मको यात्रा गर्न सन्तोष सफल भएका छन्।
सन्तोष साहले तयार गरेको नेपाली खानको परिकार
उनले फाइनल प्रवेश गरेकोमा खुसी प्रकट गर्दै आफनो लक्ष्य नेपाल र नेपालीलाई विश्वसामू चिनाउनू रहेको बताए।
‘नेपाली खानाहरु यति धेरै छन्, हामीले यसलाई विश्वमाझ परिचित गराउँनै पर्छ’, नेपालखबरसँग सन्तोषले भने।
फाइनल राउन्ड पुगेका प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धापछि अगामी साता विजेताको घोषणा हुनेछ।
उनले आजसम्मका हरेक शृंखलामा केही न केही नेपाली खाना पस्कँदै आएका छन्। परम्परागत नेपाली तरकारीहरु जस्तैः करेला, तरुल, नेपालको हिमाली कुइजिनबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, सल्ट रोस्टेड बियाँ, वन तरुल, प्याजको अचार र स्याउको चट्नी लगायतका परिकार प्रस्तुत गरेका थिए।
सन्तोष साहले तयार गरेको नेपाली खानको परिकार
सेमिफाइनलमा उनले नेवारी खाना योमरी बनाएर सबैको मन जित्न सफल भएका थिए। उनको खानामा नेपाली मौलिकता झल्किन्छ भने बोली र विचारमा पनि सरलता र नम्रता पाइन्छ। सन्तोष आफनो नाम जस्तै सौम्य र मिजासिला देखिन्छन्। उनको यही व्यवहारले बेलायतीहरुको मन जितेकोे छ।
सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनको दक्षता भारतीय खानामा रहे पनि उनी नेपाली खानाको विकासका लागि सधैँ सोचिरहन्थे।
भन्छन्, ‘कुनै दिन नेपाली खानालाई अझै परिष्कृत गर्दै देखाउने मनको चाहना थियो, त्यो अवसर आज मलाई यो प्रतियोगिाताले दिएको छ।’
सन्तोष साहले तयार गरेको नेपाली खानको परिकार
सुरुमा उनी भारतीय खाना लिएरै प्रगियोगितामा जाने कि भन्ने सोचमा थिए।
उनी भन्छन, ‘नेपाली खानाका विभिन्न विशेषताहरुबारे कम ज्ञान थियो। तर, पछि अग्रजहरुको सुझाबपछि नेपाली खानाका परिकार लिएर अगाडि बढ्ने संकल्प गरेँ र नेपाली खानालाई कसरी लिएर जाने भनेर अध्ययन गरेँ।’
उनको इच्छा फाइनलमा नेपाली टोपी लगाएर प्रतियोगितामा आउनेछ। कुराकानीमा उनले नेपाल सम्झेर भावुक हुँदै भने, ‘आयोजकहरुले अनुमति दिए नेपाली ढाकाटोपी वा भादगाउँले टोपी लगाएर अन्तिम प्रतिस्पर्धामा उत्रने छु।’
आफ्नो लक्ष्य भनेकै नेपाली खानाको पर्वद्धन गर्नु रहेको उनी बताउँछन्।
‘नेपाली खानाको प्रर्वद्धन गर्ने मेरो लक्ष्य हो, हाम्रा खानाहरुले नै हामीलाई एकदिन विश्वमाझ नेपाली भनेर चिनाउने छन्’, उनले भने।
Shares

प्रतिक्रिया