प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक सर्ने संभावना देखिएको छ।
प्रधानमन्त्री र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक सार्ने बारेमा छलफल समेत भएको बताइएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषदमा पदेन सदस्य रहने व्यवस्था छ। प्रधानमन्त्री ओली र देउवाबीच शुक्रबार बेलुका पनि भेट भएको थियो।
नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन चर्काइरहेका बेला प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत सहभागी हुने परिषद्को बैठकबाट महत्वपूर्ण संवैधानिक निकायमा नियुक्ति गर्नका लागि परिषद्को बैठक राखेपछि कांग्रेस सभापति देउवा बैठकमा सहभागी नहुने संभावना रहेको समेत बताइएको छ।
‘प्रमुख प्रतिपक्षी दलको नेता बैठकमा सहभागी हुने नहुने भन्दा पनि भोली तय भएको बैठक नै सर्ने संभावना छ, त्यहिअनुसार कुरा अघि बढेको छ,’ देउवानिकट एक नेताले नेपालखबरसँग भने।
तर, प्रधानमन्त्रीको सचिवालयले सो बैठक सर्ने भन्ने त्यस्तो कुनै निर्णय भइनसकेको बताएको छ।
‘संवैधानिक परिषद्को बैठक आइतबार बिहान ९ बजेका लागि तय भएको हो, त्यो यथावत् छ,’ बालुवाटार स्रोतले भन्यो।
कांग्रेसले सरकारको विरोधमा सोमबार सबै ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ। केहि दिनयता नेपाली कांग्रेसका नेताहरु त्यसको प्रचार प्रसारमा लागिरहेका छन्।
त्यसो त, सो परिषद् बैठक बोलाउनेबारे नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत कुनै परामर्श नभएको बताइएको छ।
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ पद रिक्त छन्।
ती पदमा नियुक्तिका लागि सिफारिश गर्न संवैधानिक परिषद् डाकिएको हो।
रिक्त पदहरुः
राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष र ४ आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र २ आयुक्त
निर्वाचन आयोग : २ आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : ४ आयुक्त
राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त
राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त
समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त
आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त
मधेसी आयोग : चार आयुक्त
थारु आयोग : चार आयुक्त
मुस्लिम आयोग : चार आयुक्त
यो पनि :
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक, यी हुन् रिक्त ४५ पद
Shares

प्रतिक्रिया