समाज


सिलिचोङमा पहिरोः विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध, ६०० घर अन्धकारमा

सिलिचोङमा पहिरोः विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध, ६०० घर अन्धकारमा

नेपालखबर
असार १६, २०८३ मंगलबार १५:२२, किमाथाङ्का (सङ्खुवासभा)

सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन्। 

वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ। तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको घर विस्थापित भएको जानकारी दिए। 

पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी पनि जोखिममा परेको छ। त्यसैगरी, सिलिचोङ–१ मा रहेको कुन्ती राईको पाँच, धनपूर्ण राईको सात, मङ्गलबहादुर राईको छ, सुकप्रसाद राईको चार, मीरा राईको पाँच, धनमान राईको तीन, परिवार विस्थापित भएका छन्।

पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ।

सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। 

बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए। 

सिलिचोङस्थित दुईवटा जलविद्युत् आयोजना क्षति पुग्दा गाउँका ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य छन्। सिसुवामा ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए। सिसुवाखोलामा आएको बाढीले यहाँस्थित दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन बन्द भएको छ। पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयवासी आफन्तका आश्रय लिएर बसेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad