सरकारले कोरोना संक्रमित पत्ता लगाउन काठमाडौं उपत्यकामा सञ्चालन गरेको एन्टिजेन परीक्षणअन्तर्गत एक दिनमै साढे ७ सय जनाको स्वास्थ्य जाँच गरेको छ।
यो परीक्षणको जिम्मेवारी लिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सुरुको दिन सोमबार साढे ७ सय जनाको एन्टिजेन परीक्षण गरिएको हो। तीमध्ये ४१ जनाको रिपार्ट पोजिटिभ आएको उनले जानकारी दिए।
उनका अनुसार ती कोरोना संक्रमित पुष्टि भएका हुन्। तिनलाई स्थानीय तहकाे समन्वयमा आइसोलेसनमा पठाइएको छ।
पहिलाे दिन चाबहिल, मित्रपार्क, विशालनगरजस्ता हटस्पट ठाउँमा परीक्षण गरिएकाे उनले जानकारी दिए। हिजो मंगलबार भने परीक्षण गरिएन भने आज गरिनेछ।
‘आज कुलेश्वर, कलंकी, कोटेश्वरलगायत क्षेत्रमा एन्टिजेन परीक्षण गरिँदै छ,’ उनले भने, ‘सम्बन्धित वडा कार्यालयले दिने नामका आधारमा एन्टिजेन परीक्षण गर्ने गरेका छौं।
यस विधिबाट आधा घन्टामै नतिजा दिने भएकाले तत्कालै रिपोर्ट दिन सकिने महाशाखाले जनाएकाे छ।
याे पनि : सरकारले काठमाडौंमा सुरु गर्याे नयाँ विधिबाट कोरोना परीक्षण, तुरुन्तै नतिजा थाहा पाइने
Shares
प्रतिक्रिया