नेपालमा कोरोना संक्रमित थपिने क्रम घट्दै गए पनि मृत्युदर भने बढ्दै गएको छ।
संक्रमितको घण्टैपिच्छेजसो मृत्यु हुन हालेको छ। बुधबार मात्रै नेपालमा संक्रमणको कारण २८ जनाले ज्यान गुमाएका छन्। पछिल्लो एकसाताको तथ्यांक हेर्दा मृत्युदर बढ्दै गएको देखिएको छ।
परीक्षण दर घटेकाले मात्रै कोरोना संक्रमणदर पनि घटेको विज्ञहरुले बताउने गरेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेका अनुसार पछिल्लो समय नेपालमा कारोना संक्रमितको दर घटेपनि मृत्युदर भने बढ्दै गएको छ। हाल नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर ०.६ प्रतिशत छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ५ मंसिरमा संक्रमणको कारण २२ जनाले ज्यान गुमाएका थिए। त्यसैगरी मंसिर ६ गते ७ जना, ७ गते १६ जना, ८ गते १६ जना र ९ गते २४ जनाले कोरोनाको कारण ज्यान गुमाएका थिए। त्यो संख्या मंसिर १० गते २८ पुगेको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार नेपालमा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।
प्रतिक्रिया