देशभर दिनदिनै क्रमशः तापक्रम घट्ने र जाडो बढ्ने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आफ्नो स्टेसन भएका २ स्थानमा न्यूनतम तापक्रम शून्य वा शून्यभन्दा तल गइसकेको छ।
बुधबार गरिएको मापनअनुसार सबैभन्दा कम तापक्रम जुम्ला स्टेसनमा देखिएको छ। त्यहाँ न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियस छ।
‘यो हाम्रो तापमापन केन्द्र भएको ठाउँको कुरा भयो,’ महाशाखाका मौसमविद् वरुण पौडेलले बिहीबार बिहान नेपालखबरसँग भने, ‘खासगरी अन्य हिमाली भेगको तापक्रम पनि अहिले यही मात्रामा हुन्छ।’
यसैगरी मुस्ताङको जोमसोममा पनि बुधबार न्यूनतम तापक्रम शून्य दशमवल शून्य (०.०) डिग्री सेल्सियसमा झरेको छ।
यसैगरी काठमाडौं उपत्यकाको अहिले बिहानको तापक्रम ६ डिग्री छ। यहाँको तापक्रम ६ डिग्रीमा झरेको एक/दुई दिन भइसकेको छ।
‘एक हप्ताभित्रमा काठामाडौंको तापक्रम २ डिग्री घटिसकेको छ, त्यही भएर भाइटीकायता भन्दा अहिले निकै चिसो अनुभव भएको हो,’ मौसमविद् पौडेलले भने, ‘विगतमा काठमाडौंको तापक्रम पनि धेरैपटक माइनसमा झरेको छ, अहिले अनुमान गर्न त गाह्रो छ, तैपनि काठमाडौं तापक्रम पनि माइनसमा झर्ने सम्भावनाचाहिँ रहन्छ।’
प्रतिक्रिया