ad ad

छापा खबर


मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा, यसरी हुँदैछ काठमाडौंमा पानीको वितरण

मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा, यसरी हुँदैछ काठमाडौंमा पानीको वितरण

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १:१९,

मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ।

नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिने खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।

पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ।

मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिए। थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ।

चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ । मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको प्रवक्ता प्रजापतीको भनाइ छ । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनले बताए।

सुन्दरीजलमा आएको मेलम्चीको पानीलाई विभिन्न स्थानमा निर्माण भएका पानी सङ्कलन केन्द्रका ट्याङ्कीमा भण्डारण गरी वितरण गरिनेछ । यसका लागि उपत्यकामा १० वटा ट्याङ्की निर्माण गरिएको छ । नौवटा तयारी अवस्थामा छन् । १० वटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन्।

भल्ब च्याम्बर एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् भने १२ वटा बाँकी छन् । निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .